बजेट अर्थमन्त्रीको पेवा होइन, संसदको सुझाव अनुसार बजेट बनाउनु प्रजातन्त्र होः सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । 

सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा सुवालले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए । 

Advertisement

संसद सदस्यको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने उनको भनाई थियो । सुवालले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए । 

सुवालले भने, ‘सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन । यो अध्यादेशमा समेट्नुपर्ने विषयतर्फ म अर्थमन्त्रीजीको अध्यानाकर्षण गराउन चाहन्छु । अर्थमन्त्रीले संसद र समितिका बैठकहरुमा संसदका सदस्यहरुबाट प्राप्त सुझाव अनुसार बजेटको कार्यक्रमको सिद्धान्त र प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम बजेट निर्माण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने । बजेटको व्याख्यात्मक टिप्पणीमा कुन सांसदको सुझाव हो । त्यो बजेट पर्नुकोकारण । त्यो समेत राख्नुपर्छ । अर्थमन्त्रीले खुरुखुरु लेख्ने प्रजातन्त्र होइन । संसद सदस्यको, संसदको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र हो ।’ 

उनले थपे, ‘अर्थ मन्त्रालयको कोष भनेको जनताको राजश्व हो । अर्थमन्त्री पेवा होइन । अर्थमन्त्रीले यो मेरो ढुकुटी हो । यो मैले छुन दिन्न भन्न पाउँदैन । त्यसकारण कुनै शीर्षक राख्ने हो भने अर्थमन्त्रीले फलाना सांसदले देश र जनताको हितमा यो विषय सुझाव दिनु भएकाले मैले यो शीर्षक राखेको हुँ भन्न सक्नुपर्छ । मनपरी गर्न पाइँदैन । बजेट निर्माण गर्नुअघि सांसदहरुलाई सम्बन्धित निर्वाचन क्षेत्रमा जनतासँग सुझाव लिन दिनुपर्छ । त्यो सुझावमा जे आउँछ, त्यस आधारमा मात्रै बजेट बनाउन पाइन्छ । त्यो भन्दा यताउता गर्न पाइँदैन । त्यस्तो यो अध्यादेशमा आउनुपर्ने हो, आएन । र विदेशी दलालहरुसँग अर्थमन्त्रीले बजेट बनाउन सुझाव दिन पाइँदैन ।’

Advertisement

Advertisement