विगत ३४ बर्षदेखिको अर्थ नीति नै गलत छः भण्डारी, उद्योगहरु निजीकरण गरेकोमा कांग्रेसको आलोचना

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरुले अहिलेको संविधान राम्रो बनाए पनि आर्थिक हिसावले भने मुलुकले धान्न नसक्ने अवस्था आएको बताउँदै अहिलेको ठूलो संसद र साँसदहरुको व्यवस्था घटाउनुपर्ने बताएका छन् । 

बिहीबार संसदमा बोल्दै उनले सरकारका उद्योगहरु निजीकरण गर्ने तत्कालिन कांग्रेस सरकारको निर्णय पनि गलत रहेको बताए । विगतमा कांग्रेस नेतृत्वकै सरकारले निजीकरण सुरु गरेको स्मरण गर्दै भण्डारीले भने, ‘त्यो निजीकरण उद्योग सञ्चालनमा गरेका थियौं । भृकुटी कारखाना, हेटौंडा कपडा उद्योग, जुट मिल सञ्चालनका लागि ती उद्योगलाई निजीकरण गरिएका थियो । आज यी सबै लथालिङ्ग भएका छन् । त्यो उद्योगहरु भताभुङ्ग भएका छन् ।’ 

Advertisement

उनले मुलुकको अर्थतन्त्र केही सीमित व्यक्तिको हातमा गएको भन्दै चिन्ता प्रकट गरे । उनले भने, ‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०–१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ नेपालको आर्थिक नीति गलत भएको भण्डारीको भनाई छ । 

बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्षमा अर्थतन्त्र झन जटिल बन्दै गएको र कही व्यक्तिको हातमा सीमित भएको भन्दै उनले यो गलत भएको हो भने । भण्डारीले भने, ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भने, ‘अब यो देश कसरी बन्छ ?’

नेपालले सुरु गरेका विकास आयोजनाहरु कहिल्यै समयमा सम्पन्न नहुने, तोकिएको लागतमा सम्पन्न नहुने गरेको औंल्याउँदै उनले मेलम्ची आयोजना र सडक आयोजनाहरु समयमा पूरा नहुँदा पनि कसैलाई कारबाही नभएको बताए । 

Advertisement

Advertisement