काठमाडौं । नेपालले माल्दिभ्सविरुद्ध शानदार जित हासिल गर्दै बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा नेपालले माल्दिभ्सविरुद्ध ४ १ गोलअन्तरको शानदार जित हासिल गरेको हो ।
यस जितसँगै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि आउँदो शुक्रबार बहराइनसँग खेल्नेछ । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको जनाइएको छ ।
ढाकाको बङबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले ३०औं मिनेटमा नवयुग श्रेष्ठको गोलसँगै खेलमा अग्रता लिएको थियो । विमल घर्तीमगरले गरेको प्रहार बारमा लागेर फर्किएको बललाई नवयुगले गोल गर्न सफल भएका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।
दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायमै राख्यो र ५३औं मिनेटमा विशाल राईले नेपालको दोस्रो गोल गर्न सफल भए । भने ६२औं मिनेटमा नवयुगले पुनः दोस्रो गोल गरे ।
त्यसैगरी, ७७ औं मिनेटमा माल्दिभ्सका नासिद अहमदले गोल गर्दै खाता खोल्न सफल भए । फेरि खेलको अन्तिममा नवयुगले अर्को गोल गर्दै हृयाट्रिक गर्न सफल भए ।