कर्णालीका ३१.५ प्रतिशत र सुदूरपश्चिमका १६.५ प्रतिशत जनता अझै अँध्यारोमा

Advertisement

काठमाडौं ।  सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ मा विद्युत् पहुँच शतप्रतिशत पुर्याउने लक्ष्य लिए पनि सो लक्ष्य पूरा गर्न कठिन देखिएको छ । 

गत जेठ १ गते नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको यो लक्ष्यलाई सम्भवतः आज आउने बजेटबाट पनि सम्बोधनको कुरा गरिने छ । तर, तथ्यांक हेर्दा आगामी आवमा त्यो लक्ष्य पूरा हुनेमा भने ठूलो चुनौती देखिएको छ । 

Advertisement

समग्रमा अहिले देशभरका ९७.७ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत प्राधिकरणले दावी गर्दै आएको छ । तर, क्षेत्रगत तथ्यांकमा त्यसमा निकै असमनता छ । मधेशमा गत बर्ष नै शतप्रतिशत विद्युत पहुँच पुगेको थियो । यो बाहेक गण्डकीमा ९९.५ प्रतिशत र गण्डकीमा ९९.३ प्रतिशत, लुम्बिनीमा ९८.३ प्रतिशत र कोशीमा ९५.३ प्रतिशत विद्युत पहुँच विस्तार भएको सरकारी दावी छ । 

त्यहाँ आगामी आवमा विद्युत् पहुँच शतप्रतिशत पुर्याउन सकिनेमा प्राधिकरणका अधिकारीहरु विश्वस्त छन् । तर, अन्य क्षेत्रको तुलनामा कर्णाली र सुदूरपश्चिममा विद्युतको पहुँच भने ज्यादै न्यून छ । त्यहाँ आगामी आवमा विद्युत् पहुँच शतप्रतिशत पुर्याउन चनौती हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

फागुन मसान्तसम्म कर्णालीमा ६८.५ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । त्योअनुसार त्यहाँ थप ३१.५ प्रतिशत जनतामा विद्युत् पहुँच पुर्याउनुपर्नेछ । यसैगरि सुदूरपश्चिममा ८३.५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ । त्योअनुसार त्यहाँ थप १६.५ प्रतिशत जनतामा विद्युत् पहुँच पुर्याउनुपर्ने छ । 

त्यसका लागि त्यहाँ वितरण लाइन लगायतका पूर्वाधारहरु निर्माण गर्ने काम सुस्तरुपमा भइरहेको छ । तर, आगामी आवमै शतप्रतिशत मात्रामा पहुँच विस्तार गर्न चुनौती हुने नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

कर्णालीमा चालु आवको आठ महिनामा मात्रै २४.५ प्रतिशत थप जनतामा विद्युत् पहुँच पुगेको छ । गत आवसम्म ४४ प्रतिशत जनतामा विद्युत् पहुँच  थियो । अहिले त्यो बढेर ६८.५ प्रतिशत पुगेको छ । 

यसैगरि, सुदूरपश्चिममा चालु आवमा थप १०.५ प्रतिशत नागरिकमा विद्युत् पुहँच पुगेको छ । गत आवमा त्यहाँ ७३ प्रतिशत जनतामा विद्युत्को दायरामा थिए । अहिले त्यो ८३.५ प्रतिशत पुगेको छ । यसरी पछिल्लो समय त्यहाँ उच्च मात्रामा विद्युत् पहुँच विस्तार भएको देखिन्छ । तर, आगामी आवमा त्यो शतप्रतिशत पुर्याउने चुनौती हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

Advertisement

Advertisement