बालेनको नयाँ नीति, दुई घण्टासम्म निःशुल्क पार्किङ सुविधा दिने घोषणा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बनाउने पार्किङ स्थलमा सर्वसाधारणले पहिलो दुई घण्टा कुनै पनि सवारी साधनलाई निःशुल्क पार्किङ सुविधा दिने भएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आगामी आर्थिक बर्ष २०८१–८२ को आर्थिक ऐनमार्फत यस्तो नीति ल्याएका हुन् । ‘काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सवारी साधन पार्किङ क्षेत्रमा पहिलो दुई घण्टाका लागि जुन कुनै प्रकारका सवारी साधन पार्किङ गरेवापत शुल्क लाग्ने छैन,’ महानगरको प्रस्तावित आर्थिक ऐन २०८१ मा भनिएको छ, ‘सो अवधि पछिका हकमा अनुसुची–११ बमोजिमको दरमा शुल्क संकलन गारिनेछ ।’ 

Advertisement

यद्यपि, अहिले महानगरले कतै पनि पार्किङ स्थल सञ्चालन गरेको छैन् । अहिले धरहरामा महानगर निःशुल्क पार्किङ सेवा दिइरहेको छ । अन्य ठाउँमा महानगरले पार्किङ स्थल बनाउने र तोक्ने काम गरेको छैन् । आगामी दिनमा बन्नसक्ने पार्किङ स्थलमा आम सर्वसाधारणले यो सुविधा पाउन सक्नेछन् । दुई घण्टापछि भने तोकिएको दरमा पार्किङ शुल्क तिर्नुपर्नेछ । 

दुई घण्टापछि दुई पांग्रे सवारी साधानलाई प्रति ३० मिनेट २५ रुपियाँ शुल्क लिइनेछ भने चार पांग्रे गाडीलाई भने प्रति ३० मिनेट ५० रुपियाँ शुल्क तोकिएको छ । अपांगता भएका व्यक्तिको सवारी साधानलाई भने कुनै शुल्क नलाग्ने बताइएको छ । 

पहिलो दुइ घण्टा निःशुल्क पार्किङ सेवा दिए पनि महानगरले पार्किङको दर भने बढाएको छ । पहिला दुई पांग्रे सवारी साधानको पार्किङ गर्दा प्रति ३० मिनेट १५ रुपियाँ मात्रै शुल्क लाग्थ्यो । एक घण्टाको लागि भने ४० रुपियाँ शुल्क तोकिएको थियो । नयाँ दर अनुसार दुई पांग्रे सवारी साधान एक घण्टा पार्किङ गर्दा ५० रुपियाँ खर्च हुनेछ । तर, यो दुई घण्टा पछि मात्रै लागू हुनेछ । 

यस्तै, पहिला चार पांग्रे गाडीको पार्किङ शुल्क पनि बढाइएको छ । पहिला यस्ता गाडीका लागि प्रतिघण्टा ८० रुपियाँ शुल्क तोकिएको थियो । तर, नयाँ दरअनुसार अब चार पांग्रे गाडीले एक घण्टामा एक सय रुपियाँ तिर्नुपर्छ । तर, पहिलो दुई घण्टा निःशुल्क पार्किङ सुविधा पाउँदा भने यो सस्तो नै पर्न जाने देखिन्छ ।

Advertisement

Advertisement