उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा महाप्रवन्धक सुरेन्द्र पौडेलसहित सबैलाई सफाइ

Advertisement

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको भनिएको भ्रष्टाचारसम्वन्धी मुद्दामा महाप्रबन्धक सुरेन्द्र पौडेलसहित सबैलाई सफाई दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै विशेष अदालतले बिहबिार सबैलाई सफाइ दिने फैसला गरेको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आज सुनुवाइ गर्दै सफाइ दिँदै पौडेलसहित उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल, नवौँ तहका अधिकृत डेमलाल खनाल, निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले सफाई पाएका छन् । 

Advertisement

अख्तियारले उद्योगलाई २२ लाख ७८ हजार रुपियाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित २०८० माघ १० मा मुद्दा दायर गरेको थियो । उद्योगका लागि १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्ने क्रममा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो । उद्योगका लागि उक्त उपकरण खरिद गर्दा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई खरिद गरिएको देखिएको आरोप लगाइएको थियो । 

साथै, केही उपयोग नहुने सामग्री खरिद गरेको, खरिदपछि र खरिदको पाँच वर्षसम्म पनि गुणस्तर परीक्षण नगरेको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगराई निमित्तबाट गराएको र महाप्रबन्धकबाट समर्थनसमेत नगराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

Advertisement