काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी मेला ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । संस्कृति, पयटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेलाको शुक्रबार उद्घाटन गरे ।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेला नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवं पर्यटनसम्वन्धी विभिन्न संघ संस्थाको सहकार्यमा आयोजना गरिएको हो । मेला दुई दिन चल्नेछ । मेलाले देश विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, ट्रेकिङ तथा माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा संस्थालाई एक ठाउँमा ल्याउने आयोजकको भनाई छ ।
कार्यक्रममा मन्त्री तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने दोहोर्याए । उनले हरेक सार्वजनिक कार्यक्रममा सोही कुरा दोहोर्याउने गरेका छन् ।
सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको भन्दै तामाङले सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पासअघि नै गरिने बताए ।
यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने तामाङको विश्वास छ । उनले पर्यटन क्षेत्रले व्यहोरिरहेको समस्या समाधान गर्न सरकार लागिपरिरहेको बताए । विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचीमा पर्ने हुँदा अब पूरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको तामाङले बताए । उनले प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको बताए ।