सुदूरपश्चिमका उद्योगमा २३ प्रतिशत भारतीय नागरिक कार्यरत

Advertisement

काठमाडौं । आर्थिक शिथिलताका बावजुत पनि सुदुर पश्चिमका उद्योगहरुको क्षमता उपभोग बढेको देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ६ महिनामा सुदूरपश्चिमका उद्योगहरु ४९.९८ प्रतिशत क्षमतामा सञ्चालन भएका छन्, जुन गत आवको सोही अवधीको भन्दा ८.३३ प्रतिशत विन्दुले कम हो । 

गत आवको सोही अवधीमा त्यस प्रदेशका उद्योगहरु ४१.६५ प्रतिशत क्षमतामा सञ्चालन भएका थिए । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदुर पश्चिम प्रदेशको अर्ध–बार्षिक आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । यसमा चालु आवको पहिलो ६ महिनाको तथ्यांक समावेश छ । 

Advertisement

उक्त  प्रदेशमा खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, ईटा, रोजिन एण्ड टर्पेन्टाईन लगायतका उद्योगहरु दर्ता छन् । त्यस मध्येबाट १२ वटा उद्योगहरुबाट नियमित रुपमा तथ्याङ्क संकलन गरी विश्लेषण गर्ने गरिएको राष्ट्र बैंकको भनाइ छ । यसरी  नमूना छनौटमा समेटिएका उद्योगहरुको आधारमा त्यहाँका उद्योगहरु ४९.९८ प्रतिशत क्षमतामा सञ्चालन भएको देखिएको राष्ट्र बैंकको भनाइ छ । 

समीक्षा अवधिमा चिनी, ईटा, र कंक्रिट उत्पादन गर्ने उद्योगकोअधिकतम क्षमता उपयोग भएको देखिएको छ । तोरीको तेल, चामल, गहुँको पिठो र साबुन उत्पादन गर्ने उद्योगको औषत क्षमता उपयोग भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी रोजीन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग न्यून रहेको छ । रोजिन उत्पादन गर्ने उद्योग कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको ढिलाई, उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको कारण उत्पादन न्यून हुन गएको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा इट्टा सबै भन्दा क्षमतामा सञ्चालन भएको देखिएको छ । समिक्षा अवधीमा त्यहाँका इट्टा उद्योग ७६.९२ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । दोस्रो नम्बरमा चिनी उद्योग रहेका छन् । त्यहाँका चिनी उद्योग ६१.७७ प्रतिशत क्षमतामा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । 

तेस्रो स्थानमा रहेको कंक्रिट उद्योगहरु भने ६०.६७ प्रतिशत क्षमतामा सञ्चालन भएको देखिएको छ । यसैगरि सावुन उद्योग ५१.२३ प्रतिशत, गहुँको पिठो उद्योग ४९.५ प्रतिशत, चामलको उद्योग ४७.५५ प्रतिशत, तोरीकोतेल ४७.६८ प्रतिशत क्षमतामा सञ्चालन भएको देखिएको छ । यसैगरि रोजिन उद्योग भने ४.५४ प्रतिशत क्षमता सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी एक हजार तीन सय २० जना रहेको देखिएको छ  । रोजगारीमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः १३.४८ प्रतिशत र ८६.५२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार सुदुर पश्चिमका उद्योगमा २३ प्रतिशत भारतीय नागरिकहरु कार्यरत छन् । 

यस्तै, समिक्षा रोजिनको १२३.२४ प्रतिशत, चामलको ५४.६९ प्रतिशत, साबुनको ५९.९० प्रतिशत र ईटाको १५० प्रतिशतले उत्पादन वृद्धि भएको छ । त्यसैगरि, गँहुको पीठो, चिनीे र तोरीको तेलको उत्पादनमा भने क्रमशः २.५ प्रतिशत, ३.१८ प्रतिशत र ३०.४६ प्रतिशतले घटेको छ । यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेको कारण उत्पादनमा ह्रास आएको देखिन्छ ।

समिक्षा अवधीसम्ममा त्यहाँको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब २२ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यहाँको कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.९४ प्रतिशत रहेको छ । 

कूल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १०.८७ प्रतिशतले वृद्धि भएको छ । गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाह हुने कर्जा भने १०.०९ प्रतिशतले ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

कूल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०.२२ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २८.५३ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २२.१४ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ६.९९ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १.१० प्रतिशत र खानीसम्बन्धी उद्योगमा १.२३ प्रतिशत अंश रहेको राष्ट्र बैंकको भनाइ छ । 
 
 

Advertisement

Advertisement