भक्तपुरको नलिन्चोकमा नयाँ हेलिप्याड सञ्चालन, त्रिभुवन विमानस्थललाई भार कम हुने

Advertisement

काठमाडौं । भक्तपुरको नलिन्चोकमा बनेको नयाँ हेलिप्याड औपचारिक सञ्चालनमा आएको छ । आज (शुक्रबार) संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले यसको उद्टघान गरे । 

भक्तपुरको सूर्यविनायक नगरपालिका– १० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा निर्माण भएको यो हेलिप्याडमा गत बर्ष मंसिर २६ मा माउन्टेन एयरको हेलिकप्टरबाट परीक्षण उडान गरिएको थियो । 

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करिब ११ करोड ९० लाख लागतमा निर्माण गरेको यो हेलिप्याडको निर्माण कार्य आर्थिक वर्ष २०७९–८० साउन १ बाट सुरु गरिएको थियो । नलिन्चोकस्थित क्यानको सो जग्गा लामो समयदेखि खाली थियो । 

मुख्यगरी काठमाडौंको पूर्व तिरको हेलिपोर्टमा क्षमता भन्दा बढी हेलिकप्टरहरु राख्ने गरिएको र त्यहाँ सुरक्षाको दृष्टिकोणबाट खतरा भएकोले एक वर्ष पहिला ३८ वटा हेलिकप्टरमध्ये २४ वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने र १४ वटा काठमाडौं बाहिर राख्ने निर्णय गरिएको थियो । 

त्रिभुवन विमानस्थलको हेलिप्याड रन–वेको नजिक भएको र बुद्ध एयरको ह्याङ्गर पनि त्यही भएका कारण हेलिकप्टर उडान र अवतरण गर्दा अप्ठ्यारो हुनुका साथै सुरक्षाका कारण जोखिम पनि भएकाले हेलिप्याड स्थानान्तरण गरिएको क्यानले जनाएको छ । 
 

Advertisement

Advertisement