आईएमई समूहले बनाउन लागेको मध्ये कालीगण्डकीमा नविलसहितले ११.१२ अर्ब ऋण लगानी गर्ने

Advertisement

काठमाडौं । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रा.लि.मार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा नविल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ११ अर्ब १२ करोड ऋण लगानी गर्ने भएका छन् । 

कुल ऋण लगानीमध्ये नविल बैंकले तीन अर्ब १२ करोड लगानी गर्नेछ भने बाँकी सहवित्तीयकरणका अरु बैंकहरू राष्ट्रिय बाणिज्य बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, एभरेष्ट बैक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल बैंक, प्रभु बैकले गर्नेछन् । 

Advertisement

उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले शुक्रबार ऋण सम्झौता गरे । सम्झौतापत्रमा हाइड्रो सपोर्टको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका  थिए । 

 निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपियाँ अनुमानित लागत रहेको यस आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजीबाट लगानी जुटाइने कम्पनीको भनाई छ ।

स्वपुँजीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ । मध्ये कालीगण्डकीमा एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले दुई–दुई अर्ब, नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैकले एक–एक अर्ब ऋण लगानी गर्नेछन् । 

सन् २०२४ बाट निर्माण सुरु भई चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणको तयारीमा रहेको छ । नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरीद बिक्री सम्झौता गरिसकेको यस आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब नौ करोड रुपियाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाटबाट एक अर्व ३३ करोड रुपियाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट दुई अर्व ४२ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement