मूल्य बढ्दा पनि सुनको खपत उच्च, जेठमा मात्रै दुई अर्ब रुपियाँको आयात

Advertisement

काठमाडौं ।  मूल्य बढेर आकासिंदा पनि नेपालमा सुनको कारोबारमा भने कुनै कमी आएको छैन । भन्सार बिभागबाट प्राप्त सुन आयातको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार जेठ महिनामा मात्रै २०० केजी सुन आयात भएको छ । दुई अर्ब ३७ लाख रुपियाँमा सो बरारबको सुन आयात भएको हो । त्यसबाट सरकारले ४० करोड सात लाख ५९ हजार रुपियाँ राजश्व प्राप्त गरेको छ ।  

Advertisement

जेठ महिनामा सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपियाँ पुगेको थियो, जुन हालसम्मको उच्च हो । अहिले पनि सुनको मुल्य सोही विन्दुकै आसपास छ । आइतार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  

तर, कारोबारमा भने कमी नआएको सुन आयातको तथ्यांकले देखाएको छ । गत बैशाखमा पनि ५५० केजी सुन आयात भएको थियो । जवकी गत चैतमा सुन आयात भएकै थिएन । चैतको तेस्रो साताबाट सुनको मूल्य बढ्न थालेको थियो । त्यसपछिकै महिना अर्थात् बैशाखमै उच्च मात्रामा सुन आयात भएको थियो । 

ग्राहकहरुबाट सुनका गरगहनाका माग उच्च मात्रामा छैन । तर, पछि मुल्य बढ्ने आशामा ठुलाठुला व्यवसायी तथा लगानीकर्ताहरुले सुन किनेर होल्ड गर्ने गरेको पनि बताइन्छ, त्यसले गर्दा पनि सुनको खपत बढेको विज्ञहरु बताउँछन् ।

चालु आवमा साउनमा २०० केजी, भदौमा ३०० केजी, असोजमा ४०० केजी, कात्तिकमा १०० केजी, मंसिरमा २०१ केजी र पुसमा १०० केजी सुन आयात भएको छ । यसैगरि माघमा १०० केजी, फागुनमा ४०० केजी, चैतमा शुन्य, बैशाखमा ५५० केजी  र जेठ २०० केजी सुन आयात भएको छ । 

११ महिनामा कति भयो ?
चालु आवको ११ महिनामा भने दुई हजार ६५१ केजी सुन आयात भएको छ । २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँ खर्च गरेर सो बराबरको सुन आयात गरिएको हो । सो बराबरको सुन आयात गर्दा सरकारले तीन अर्ब ६४ करोड ८३ लाख सात हजार रुपियाँ राजश्व प्राप्त गरेको छ । 

समिक्षा अवधिमा परिमाणका आधारमा सुनको आयात घटेको छ । गत आवको ११ महिनामा नेपालमा दुई हजार ९१६ केजी सुन आयात भएको थियो । तर, यसपाली त्यो नौ प्रतिशतले घटेर दुई हजार ६५१ केजीमा सिमित भएको छ । 

यद्यपि, रकमका आधारमा त्यो बढेको छ । गत आवमा उक्त मात्रामा सुन आयात गर्दा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपियाँ  खर्च भएको थियो । तर, गत आवको भन्दा २६४ केजी कम सुन आयात हुदाँ यसपाली २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँ खर्च भएको  छ ।  बिशेषगरि मूल्य बढ्दा आयात लागत बढेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा सुन आयात गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै छ । उनीहरुले युएई लगायतका मुलुकबाट सुन आयात गरेर व्यवसायीहरुलाई बिक्री गर्दै आएका छन् । नेपालमा दैनिक २० केजी सुन आयात गर्न पाइन्छ । 
 

Advertisement

Advertisement