धावनमार्ग छोटो रहेको भरतपुर विमानस्थलमा एटीआर ७२ अवतरण गर्न दिने जोखिमपूर्ण निर्णय

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थलको धावनमार्गको विस्तार नगरी ७२ र ८० सिट क्षमताका जहाजहरु अवतरण र उडान गर्न अनुमति दिने जोखिमपूर्ण निर्णय गरेको छ । 
 
धावनमार्ग छोटो भएको भन्दै उक्त विमानस्थलमा हालसम्म ४२ सिट क्षमता र सोभन्दा साना जहाजहरु मात्रै उडान र अवतरण गर्न अनुमति दिएको प्राधिकरणले आफ्नै मापदण्डलाई तोड्ने काम गरेको हो । 

धावनमार्गको लम्बाई ४५० मिटर मात्रै रहेको भरतपुर विमानस्थलमा यती एयरलाइन्सले ७२ सिट क्षमताको एटीआर जहाज उडान गर्न सकेको थिएन् । सोही कारण बुद्ध एयरले आफ्नो ४२ सिट क्षमता र सोभन्दा साना जहाजमार्फत एकलौटी उडान गर्दै चर्को भाडादर अशुल्दै आएको थियो । 
 
तर यही गएको असार ६ गते प्राधिकरणले श्री एयरलाईन्सको ८० सिट क्षमताको जहाज (क्यु ४०० ड्यास–८)लाई परीक्षण उडान गर्न अनुमति दिनुका साथै बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर जहाज उडान गर्न अनुमति दिएको छ । यी खालका जहाज उडान र अवतरण गर्न धावनमार्गको लम्बाई कम्तिमा पाँच सय मिटर हुनुपर्छ । 

Advertisement

धावनमार्गको लम्बाई बढाउन लामो समयदेखि समस्या बनेको नेपाली सेनाको गण र सेनाको घोडा प्रजनन केन्द्र अन्य ठाउँमा स्थानान्तरण गर्ने मन्त्रिपरिषदले निर्णय गरे पनि स्थानान्तरण र धावनमार्ग विस्तारका लागि समय लाग्ने देखिन्छ । त्यो नहुँदै प्राधिकरणले हतार हतार श्रीएयरलाइन्स र बुद्ध एयरलाई उडान गर्न दिने काम गरेको हो । 
 
यति एयरलाइन्सले भने भरतपुर विमानस्थल एटीआर ७२ जहाजको लागि उपयुक्त नरहेको भन्दै उक्त विमानस्थलमा उडानका लागि तत्काल अनुमति नलिने संकेत दिएको छ । भरतपुरको धावनमार्ग अन्य विमानस्थलको भन्दा छोटो भएका कारण एटीआर ४२ भन्दा ठूला जहाजहरु अवतरण गर्न जोखिमपूर्ण हुने भन्दै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले  एटीआर ७२ जहाज अवतरण गर्न धावनमार्गको लम्बाई पाँच हजार फिट चाहिने बताए । 

अहिले एटीआर ४२ जहाज बुद्ध एयरको मात्रै रहेकोले उसले मात्रै भरतपुरमा एकलौटी गर्न पाएको छ । अन्य वायुसेवा कम्पनीहरुले यो क्षमताका जहाज थप्न सकेका थिएन । यती एयरलाइन्सले आफूहरुले भरतपुरमा उडान गर्न चाहे पनि एटीआर ४२ नभएको, सो खालका जहाज किन्दा एटीआर ७२ जस्तै महंगो पर्ने भएकाले खरीद गर्न ढिलाई गरेको बताउँदै आएको छ । धावनमार्ग लम्बिएपछि भने आफूहरुले पनि उडान सुरु गर्ने सो एयरलाइन्सको भनाई छ । 

बर्तौलाले भने, ‘लोड कम बोकेर ३५–४० जना यात्रु मात्र जहाजमा बोकेर काम छैन् । एटीआर जहाज अवतरण गर्दा छाटो धावनमार्गमा बढी दबाब पर्छ । ब्रेक लगाउँदा टायर बाङ्गिन सक्ने सम्भावना बढी हुन्छ । अहिले भरतपुरबाट उडान गर्ने योजनामा हामी छैनौं । रन–वे बिस्तार भएपछि मात्र उडान गर्छौं ।’ 

यता प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले श्री एयरलाइन्सले परीक्षण उडान मात्र गरेको र त्यसको प्राविधिक प्रतिवेदन आइनसकेको बताए । उनले ८० सिट क्षमताको जहाज उपयुक्त हुने नहुने ? प्रतिवेदन आएपछि भन्न सकिने बताए । पाण्डेले भने, ‘वायुसेवा कम्पनीहरुले सुरक्षामा पूर्ण ध्यान दिनैपर्छ । ७२ सिटको जहाज अवतरणका लागि कम्तिमा १० गुर्ण सुरक्षित राख्नुपर्छ हाम्रो सिटममा । त्यो हिसाबले ७२ जना यात्रु लान सकिएन भने ५० जना लान सकिन्छ ? ५५ जना सकिन्छ कि 
?’

वायुसेवा कम्पनीहरुले आफ्नो रिपोर्ट हेरेर जहाज निर्माण कम्पनीसँग पनि सल्लाह गर्नुपर्छ भन्दै उनले निर्माण कम्पनीहरुको प्रतिक्रिया लिएर आफ्नो व्यवसायिक योजना बनाउनुपर्ने बताए । बुद्ध एयरले एक सातापछि भरतपुरबाट ठूला जहाज (एटीआर ७२) सञ्चालन गर्ने तयारी गरेको छ । 

बुद्ध एयरका अनुसार धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने र जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने तयारी गरेको छ । अहिले उसले एटीआर ४२ मार्फत काठमाडौँ–भरतपुर दैनिक नौ वटा र भरतपुर पोखरा दैनिक एउटा उडान सञ्चालन गर्दै आएको छ । 

भरतपुर विमानस्थलमा धावनमार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुँदैछ । 

Advertisement