पर्यटन मन्त्रीको पहलपछि निगमको वाईडबडीको हुने भयो सि-चेक

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको पहल र निर्देशनपछि नेपाल वायुसेवा निगमको वाईडबडी जहाजको सम्पूर्ण मर्मत (सी–चेक) हुने भएको छ ।

पर्यटनमन्त्री तामाङले वायुसेवा निगमका अध्यक्ष र नागरिक उड्यन प्राधिकरण क्यानका महानिर्देशकसँग पटक पटक छलफल गरी निर्देशन दिए बमोजिम कल साइन नाइन एनएनवाई जहाजको सि–चेकका लागि सहज भएको हो । 

Advertisement

क्यानले विना अनुमति दुबई हुँदै ईटाली जहाज लगेको भन्दै सि चेकको अनुमति दिएको थिएन । तर मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेर पहल लिएपछि शुक्रबार क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो । 

मन्त्री तामाङले  क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित  मन्त्रालयमा नै बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिएर छिटो सी चेकको कार्य सम्पन्न गर्न निर्देशन दिए । हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेम नाथ ठाकुरले सि–चेकका लागि क्यानले निगमलाई अनुमती दिएको जानकारी दिए । 

वायुसेवा निगमले जुन २२ मा निगमको एक वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली पठाईएको थियो । सो जहाज तीस दिन भित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । ईटालिएन कम्पनी एटीटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिईएको छ । यता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वाईडबडी जहाजको सी चेकको लागि क्यानले अनुमति प्रदान गर्ने प्रक्रिया गरिरहेको जानकारी आए पनि पत्र प्राप्त नभएको बताए । 

दुईवटा वाइडबडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभए उडान गर्न पाउने थिएन । साथै यस जहाजको मर्मत सम्पन्न भए पश्चात निगमको अर्को ए३३० जहाज ९एन–एएल् जेट्लाई पनि मर्मत सम्पन्न गराउन सोही मर्मत कम्पनीमा जूलाई २०२४ को अन्तिम सातामा पठाउन तयारी गरिरहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिए । 

Advertisement

Advertisement