सुरक्षा दृष्टिले नलिन्चोकमा हेलिकप्टर उडाउन सकिन्नः पाइलटहरु, क्यानलाई नैतिक संकट

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भार कम गर्न राजधानी नजिकै भक्तपुरको नलिनचोकमा निर्माण गरिएको हेलिपोर्टमा सुरक्षा दृष्टिकोणले हेलिकप्टर उडान नसकिने पाइलटहरुले बताएका छन् । 

यही गएको असार ७ गतेदेखि सञ्चालनमा ल्याइएको नयाँ हेलिप्याड सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण रहेको एक जना क्याप्टेनले बताए । पाइलटहरुको यस्तो प्रतिक्रियापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नैतिक संकटमा परेको छ । 

Advertisement

क्यानले विगत नौ दिनको प्रतिक्रिया र सुझावहरु प्राप्त भएको र तत्कालै सुधार गर्नुपर्ने काम सुरु भइसकेको स्वीकार गरे पनि सुरक्षा चुनौतिका कारण उक्त हेलिप्याडबाट हेलिकप्टर उडाउन नसकिने पाइलटहरुको भनाईप्रति प्रतिक्रिया दिएको छैन् ।  

प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले नयाँ हेलिप्याडबारे वायुसेवाका पाइलटहरुले सुझाव बुझाएको बताउँदै सुझावहरु अध्ययन गरेर गर्नुपर्ने सुधार गरिसकेको र अरु आवश्यक सुधार पनि गरिने बताए । लामो अवधिमा सम्बोधन गर्नुपर्ने कार्यहरुमा सम्पूर्ण वायुसेवा कम्पनीहरुसँग बसेर छलफल गरेर त्यही अनुसार काम गर्ने उनले बताए । 

पाण्डेले भने, ‘भौगोलिक परिस्थिति र घरहरु रातारात हटाउन सकिने कुरा होइन् । यसमा स्थानीयावासीदेखि स्थानीय निकाय र सरकार सबै सरोकारवालाको सहयोग चाहिन्छ । त्यो सहयोग जुटाएर गर्नुपर्ने सुधारका लागि समन्वय गछौं ।’ 

उनले थपे, ‘हेलिप्याड निर्माण गर्दा सबै अध्ययन गरेर नै गरेको हुन्छ । सुरक्षा मूल्याङ्कन गरेको हुन्छ । त्यहाँ यस्तो जोखिम छ, त्यो जोखिमलाई यसरी समाधान गर्नुपर्छ भनेर योजना बनाएर निर्माण गरिन्छ । नलिनचोकमा पनि त्यहीअनुसार हेलिप्याड निर्माण गरेको हो । अहिले सुझाव आएअनुसार सुधार गर्नुपर्ने के के छ ? अध्ययन गरेर क्रमिकरुपमा भइहाल्छ । उक्त हेलिप्याडबाट १७ हेलिकप्टरले १० दिनदेखि उडान सञ्चालन गरिरहेको पाण्डेले बताए । 

तर यता क्याप्टेनहरूले सुरक्षा संवेदनशीलता देखाउँदै नलिनचोक हेलिपोर्टबाट उडान गर्न नसकिने बताउँदै आएका छन् । उक्त हेलिप्याडबाट टेकअफ र ल्यान्डिङमा समस्या भइरहेको र हेलिप्याड र सेक्युरिटी वालु एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले पनि टेकअफ र ल्यान्डिङमा समस्या भएको एक क्याप्टेनले सुनाए । 

कुल ३२ रोपनी क्षेत्रफलमा निर्माण भएको यो हेलिप्याडमा गत बर्ष मंसिर २६ मा माउन्टेन एयरको हेलिकप्टरबाट परीक्षण उडान गरिएको थियो ।प्राधिकरणले करिब ११ करोड ९० लाख लागतमा निर्माण गरेको यो हेलिप्याडको निर्माण कार्य आर्थिक वर्ष २०७९–८० साउन १ बाट सुरु गरिएको थियो ।

त्रिभुवन विमानस्थलको हेलिप्याड रन–वेको नजिक भएको र बुद्ध एयरको ह्याङ्गर पनि त्यही भएका कारण हेलिकप्टर उडान र अवतरण गर्दा अप्ठ्यारो हुनुका साथै सुरक्षाका कारण जोखिम पनि भएकाले हेलिप्याड स्थानान्तरण गरिएको क्यानले जनाएको छ । 

Advertisement