एक बर्षमा नेपालमै बनेको इलेक्ट्रिक स्कुटर चढ्न पाइने

Advertisement

काठमाडौं । नेपालमा बनेको पहिलो दुई पाँग्रे अटोमोवाइल ब्राण्ड यात्रीले हालसम्म मोटरसाइकल मात्र उत्पादन गर्दै आएकोमा अब स्कुटर उत्पादन गर्ने भएको छ । 

नेपालको अटोमोवाइल क्षेत्रको सबैभन्दा ठूलो कम्पनी सिप्रदी ट्रेडिङ कम्पनीसँग सहकार्य सँगै स्टार्टअप कम्पनी यात्रीले स्कुटर उत्पादनका लागि अध्ययन सुरु गरेको छ । 

Advertisement

चिनियाँ र भारतीय कम्पनीका ईभी स्कुटरले नेपालको भुगोलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको अवस्थामा सिप्रदीले यात्रीलाई नेपालमा स्थापित गर्ने योजना बनाएको हो । नेपाली ब्राण्ड भएकाले यात्रीले नेपालाम पडक जमाउँदै आएका विदेशी ब्राण्डको चेपुवामा पर्दै आएको थियो । 

नेपाली बजारको मागलाई अध्ययन गरेर त्यसैलाई प्राथमिकतामा राखेर उत्पादन सुरु गरिने सिप्रदीका एक उच्च अधिकारीले बताए । सिप्रदीले नेपालमा लामो समयदेखि भारतीय अटोमोवाइल ब्राण्ड टाटाका गाडिहरु बिक्री गर्दै आएको छ । 

सिप्रदीका ती अधिकारीले भने, ‘हामी अहिले अध्ययनकै क्रममा छौं । बजारको माग र आवश्यकताअनुसारको उत्पादन गर्ने योजनाका साथ तयारी भइरहेको छ । अहिलेको बजार हेर्दा ग्राहकले मोटरसाइकल भन्दा स्कुटर सुचाइरहेकोले हामीले इलेक्ट्रिक स्कुटर बनाउन खोजेका हौं ।’

सिप्रदी र यात्रीको सहकार्यमा उत्पादन हुने स्कुटर चढ्न भने कम्तिमा एक वर्ष पर्खनु पर्नेछ । अहिले सबैकुरा प्रारम्भिक चरणमा रहेको हुनाले उत्पादन बजारमा आउन समय लाग्ने सिप्रदीको भनाई छ । 

स्कुटर उत्पादनसँगै सिप्रदी दुई पांग्रेमार्फत नेपालमा गाडि उत्पादनको नयाँ चरणमा प्रवेश गर्नेछ । यात्री मोटरसाइकल सन् २०१७ मा स्थापना भएको कम्पनी हो । कम्पनीले नेपालमै डिजाइन गरी निर्माण गरेर मोटरसाइकल नेपाली बजारमा ल्याएको थियो । मोटरसाइकल राम्रो भए पनि कम्पनीलाई यसको बजारी गर्न गर्न सरकारी पक्षले नै नियोजितरुपमा असहयोग गरेको थियो । 

Advertisement

Advertisement