जसले हवाई माफियाको स्वार्थमा जहाज किन्न अवरोध गर्यो, उसैलाई कार्यकारी अध्यक्षको जिम्मेवारी

Advertisement

काठमाडौं । बहुदल आएपछि अन्तर्राष्ट्रिय उडानमा खुम्चिँदै गएको नेपाल वायुसेवा निगमलाई जब नयाँ जहाज किन्ने प्रक्रिया भयो, निगमभित्र सबैभन्दा बढी अवरोध सिर्जना गर्ने व्यक्ति थिए युवराज अधिकारी । 

जहाज किन्ने समयमा निगमको लेखा विभागको प्रमुख रहेर उनी अहिले निगमको अध्यक्ष छन्, त्यो पनि कार्यकारी अधिकारसहित । अन्तर्राष्ट्रिय उडानमा शुन्य हुने जोखिममा गएको निगमलाई जब सुगतरत्न कंसाकार (तत्कालिन महाप्रवन्धक) आएर आएर जहाज किन्ने प्रक्रिया सुरु गरे, तब त्यो प्रक्रियालाई अवरोध गर्ने र बिथोल्न खोज्ने उनै अधिकारी थिए । 

Advertisement

नेपालले नयाँ जहाज किन्ने प्रक्रिया सुरु भएपछि धेरै हवाई माफियाहरु सक्रिय भएका थिए । त्यसमा धेरै नेता र प्रशासकहरुको पनि स्वार्थ थियो । उनीहरु नेपालमा जहाज निर्माण कम्पनीहरुको स्थानीय एजेन्टमार्फत निगमले जहाज किनोस भन्ने चाहान्थे । त्यसरी किन्दा मोटो रकम कमिसनको खेल हुने, खरीद प्रक्रिया झन विवादित हुने देखेपछि कंसाकारले ग्लोबल टेण्डरमार्फत सोझै जहाज निर्माता कम्पनीबाट चार वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज खरीद गर्ने प्रक्रिया अघि बढाए । सो कुरामा उनले प्रधानमन्त्रीदेखि पर्यटनमन्त्रीसम्मलाई आश्वस्त गराए । 

तर सो कुराबाट रुष्ट रहेका हवाई माफियाहरुले प्रक्रियालाई अवरोध सुरु गर्न थाले । उनीहरुले निगमभित्रकै केही कर्मचारीलाई प्रयोग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक खरीद अनुगमन कार्यालयसम्म पटक पटक उजुरी दिएर प्रक्रिया रद्द प्रयास गरे, जसको नेतृत्व युवराज अधिकारीले गरेका थिए । यता माफियाहरुले केही मिडियालाई प्रयोग गरेर जहाज खरीद प्रक्रिया रोक्न माहौल बनाउँदै थिए । त्यही मेसोमा संसदको सार्वजनिक लेखा समितिलगायतका समितिहरुसमेत यसको विपक्षमा उभिए । समितिका सदस्यहरु कतिपय बदनियतले कतिपय नबुझिकनै जहाज खरीदमा अनियमितता भएको पक्षमा उभिए । 

यी सबै अवरोध र आलोचनालाई चिर्दै कंसाकारले पहिलो चराण्मा ग्लोबल टेण्डरमार्फत युरोपमा निर्मित एयरबस कम्पनीको दुई वटा न्यारोबडी जहाज काठमाडौंमा उतार्न सफल भए भने पछि दुई वटा  वाइडबडी जहाज उतार्न सफल भए । जहाज निर्माता कम्पनीलाई सुरुमा वैना रकम पठाएको आरोपमा अख्तियारले मुद्दा दायर गरेर उनलाई जेल पठाउन सफल भए पनि पछि उनले सफाई पाए । वाइडबडी जहाज खरीदमा पनि जहाजको तौल आदि विषयलाई लिएर माफियाहरु कंसाकारसहित जहाज खरीद प्रक्रियामा संलग्नहरुलाई जेठ उठाउने प्रयासमा छन् । 

बहुदलपछि निगमको अवस्था सुधार हुनुपर्नेमा झन खस्किँदै गयो । राजनीति हावी हुँदै गयो । निगमको वित्तीय अवस्था सुधार नहुने तर नेताहरुको दबाबमा दलका कार्यकर्ता भर्ति गर्दै आर्थिक बोझ थप्ने काम भयो । २०४६ सालमा चार वटा जहाजमार्फत उडान गर्दै आएको निमममा त्यसको तीन बर्षमा नै दुई वटा जहाज बिक्री गरेर बाँकी दुई वटा मात्रै जहाजमार्फत लामो समयसम्म अन्तर्राष्ट्रिय उडान थेग्ने काम भयो । त्यो लामो समयमा कमिसनका लागि जहाज भाडामा ल्याउने नाममा चेज एयर, लाउडा, धमिजा र चाइना साउथ वेस्ट काण्ड भए । त्यसले निगम झन बदनाम र कमजोर बन्दै गयो । 

राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै स्वार्थ समूहका स्वार्थ र अवरोधलाई चिर्दै निगमका लागि जहाज खरीद गर्ने कुरा सहज थिएन् । अर्बौंको यस खरीद प्रक्रियामा ऋण जुटाएर कंसाकारले जहाज खरीद गर्दा असहयोग गर्ने तिनै तत्कालिन लेखा प्रमुख अधिकारी अहिले निगमको कार्यकारी अध्यक्ष छन् । उनलाई यो ठाउँमा पुर्याउन तिनै हवाई माफियाको मुख्य भूमिका देखिन्छ । धेरै पटक विवादमा पर्दै आए पनि निगम प्रमुखमा टिक्न सफल भएका छन् । कमजोर कार्यक्षमताका कारण धेरै पटक पर्यटनमन्त्रीले अधिकारीलाई निगमबाट हटाउने प्रयास गरे पनि उनीहरु असफल हुँदै आएका छन् । 

पञ्चायतको समयमा अन्तर्राष्ट्रिय उडानमा ५०–६० प्रतिशत हिस्सा ओगटेको नेपाल वायुसेवा निगमको बजार हिस्सा नयाँ जहाज नथपिँदा र निगमको बेथितिले गर्दा घटेर तीन प्रतिशतमा समेत सीमित भएको थियो । पछिल्लो समयमा दुई जटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज आएपछि भने विदेशी वायुसेवा कम्पनीको पकड केही घटेको छ । विदेशी वायुसेवा कम्पनीहरुको पकड कम गरी यात्रुलाई सहुलियत दरमा उडान सेवा प्रदान गर्न र नेपालको पर्यटन क्षेत्रको विकास पनि अरु दर्जनौं जहाज आवश्यक भइसकेको छ । त्यो संभावनालाई देखेर पनि हवाई माफियादेखि जहाज निर्माता कम्पनीहरुले नेपालमा चलखेल गर्ने र युवराज अधिकारीहरु उत्पादन गर्ने काममा लागेका छन्, जसका लागि करोडौं रुपियाँको चलखेल भइरहेको जानकारहरु बताउँछन् । 

यो पनि पढ्नुहोस्ः 

हवाई माफियाका कारण नेपालको उड्डयन क्षेत्र सधैं अस्थिर, साहसिक व्यक्तिको पुनः खोजी

Advertisement

Advertisement