आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण यो सरकारले निर्माण गर्छः महत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । 

सोमवार राजधानीमा आयोजित विचार गोष्ठीमा उनले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरे । महतले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरु रहेको उल्लेख गर्दै समावेशितालाई कटौति गर्ने नभइ हरेक वर्ग, समूहका व्यक्तिलाई  प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भइ आउने व्यवस्था गर्ने बताए । 

Advertisement

वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरिकन संशोधन र सुधार गर्न सकिने उनको तर्क छ । महतले एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए । उनले परिस्थितिका कारण दुई ठूला पार्टी एक ठाउँमा हुन परेको बताए । 

उनले समाजवाद, प्रजातन्त्र, कानूनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताए । महतले पार्टी र व्यक्तिभन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताए । उनले भने,  ‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिष्पर्धी पार्टी पनि हौँ । त्यसअर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दैछौँ । समाजवादको कुरा गर्दैछौँ । लोकतन्त्रको कुरा गर्दैछौँ । यो कानूनी शासनको हरेक मुद्दामा नेपाली काँग्रेसले अक्षरशः कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्ति भन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ ।’ 

महतले थपे, ‘पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठूलो चुनौति छ । तर आवश्यकता हो । त्यसको बीचमा काम गरिरहेका छौँ । संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरु मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभुत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्परमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ बेटर उपायहरु छन् । अझ राम्रो तरिकाहरु छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौति गर्ने होइन । तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरु छन् । महिलाहरुको एक तिहाई सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसंख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरु वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्नसक्छौँ ।’

सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गरे । 

Advertisement