एमाले नेता भन्छन्– ओलीले बालेनलाई सहयोग नै गर्न चाहानुहुन्छ, बालेन नै 'नेगेटिभ’ भए

Advertisement

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहतर्फ लक्षित गर्दै उक्त कुरा भनेका हुन् । 

पोखरेलले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । प्रजातन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’ 

Advertisement

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताउँदै उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिए । पोखरेलले दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौति पनि दिए । 

उनले भने, ‘एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ । उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली प्रजातन्त्रको सुन्दरता हो । हामी तयार छौं ।’

प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको पोखरेलको जिकिर छ । बालेन भने ओलीविरुद्ध लगातार नकारात्मक ढंगले प्रस्तुत भइरहेको उनले बताए । एमालेका कुनै पनि नेता, सांसदहरुले अपराध गर्छ भने उनीहरुलाई दण्डित गर्न कसैले नरोक्ने पनि पोखरेलले बताए । 

उनले थपे, ‘ओलीजी र बालेन शाहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररुपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’ 

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म समृद्ध नेपाल खुसी नेपालीको सपना साकार पार्न ओली लागिरहेको बताए । 

साथै, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई पोखरेलले जे मन लाग्यो त्यही मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने प्रजातन्त्र हुन नसक्ने उनको तर्क छ । 

पोखरेलले भने, ‘पञ्चायतकालमा विरोध गर्नेहरुले कति वर्ष जेल बस्नुपरेको थियो ? अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने ?’ साथै, उनले एमाले–कांग्रेससहितको सरकारको मुल मुद्दा सुशासन र समृद्धि रहेको दावी गरे । 

उनले जबरजस्ती रुपमा संविधान संशोधन नहुने पनि बताए । राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने पोखरेलको भनाइ छ । उनले भने, ‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौं । त्यसमा राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होईन, यो संशोधनीय दस्ताबेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन ।’

साथै, भूकम्पका कारण लडेका संरचनाहरु उठाउने काम एमालेले गरेको उनको दाबी छ । झापाको भ्यूव टावरलाई उनले ‘ट्रेड टावर’को संज्ञा दिए । झापाको भ्यूव टावरले भोलिका दिनमा राम्रो सन्देश दिने पोखरेलको दावी छ । 
 

Advertisement