अब खतराको सूचना जारी भएको दिन रात्रिकालीन सवारी साधन चलाउन नपाइने

Advertisement

काठमाडौं । अब खतराको सूचना (रेड एड्भाइजरी) जारी भएको दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी साधन चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयले शुक्रबार उक्त निर्णय गरको हो ।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको हो । 

Advertisement

यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने छ । निर्णयअनुसार अब बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको तोकिएको ठाउँमा राति सवारी साधन चलाउन पाइने छैन ।

अविरल बर्षासँगै राति करिव ३ बजे चितवनको सिमलतालमा पहिरोले धकेलेर दुई वटा यात्रुबहाक बस त्रिशूली नदीमा बसेपछि मन्त्रालयले यस्तो निर्णय गर्न बाध्य भएको हो । साथै, मन्त्रालयले अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरेको छ । यस्तो टिकटले यात्रुको पहिचान गर्न र घाइते तथा मृतकको परिवारलाई बीमा दावी भुक्तानी गर्न सहज हुने मन्त्रालयको विश्वास छ । 

साथै, गृह मन्त्रालयले पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णय पनि गरेको छ । त्यसैगरी, यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको छ । 

सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने, 
कान्ति राजमार्ग लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने निर्णय पनि गरिएको छ । 

Advertisement