स्थानीयको नाममा ठूला दलहरुद्धारा नयाँ सडकको पैदलमार्ग विस्तार गर्ने कार्यमा पुनः अवरोध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोडको जुद्ध शालिकदेखि नरदेवीसम्म पैदलमार्ग (फुटपाथ) विस्तार गर्ने महानगरपालिकाका मेयर बालेन शाहको प्रयासमा स्थानीयको नाममा पुनः अवरोध भएको छ । 

निकै भीडभाड हुने उक्त सडकखण्डमा फुटपाथ नहुँदा पदैलयात्रुलाई निकै सकस भइरहेको बेला बालेनले यसलाई विस्तार गर्ने काम सुरु गरेका थिए । वडा नम्बर २२ का वडाध्यक्षकै प्रस्तावमा सुरु भएको यस कार्यमा यसअघि तत्कालिन सत्तारुढ दल नेकपा एमालेले अवरोध गरेकोमा अहिले ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीयलाई उतार्न सफल भएका छन् । 

Advertisement

बालेनको कामबाट काठमाडौंवासी प्रभावित र खुशी भइरहे पनि उनको लोकप्रियता र कार्यशैलीबाट ठूला दल र नेताहरु भने त्रसित हुँदै आएका छन् । उनीहरुले विभिन्न ढंगले बालेनलाई असफल बनाउने र काममा अपरोध गर्ने प्रयास गर्दै आएका छन् । 
 
लामो समयदेखि उक्त सडकलाई पार्किङको रुपमा प्रयोग गर्दै आएको गिराह पार्किङ हटाउने निर्णयपछि रुष्ट भएको थियो । सो समूहले समेत फुटपाथ बढाउने प्रयासमा अवरोध गरेको देखिन्छ । दुई जना मानिस पास हुन समेत गाह्रो हुने उक्त फुटपाथ साँधुरो हुँदा महिलाहरुलाई दुव्र्यवहार हुने, पकेटमारी हुने जस्ता जस्ता समस्या आउने गरेका थिए । 

केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो । तर दलगतरुपमा अवरोध गर्दा प्रयास सफल नहुने भएपछि स्थानीयको नाममा पुनः अवरोध सुरु भएको हो । 

शुक्रबार विरोधमा उत्रिएकाहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका प्रमुखका स्वकीय सचिव भूपदेव शाहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताए । उनले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडि बढ्ने बताए । उनले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी सरकारको भएको बताए । 

शाहले भने, ‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ । यो हतारो होइन । पूर्वयोजना हो । हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडी अदालतले रोकिदिनुस् भन्यो । अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानूनको पालना गर्दै सबैकुरा अगाडी बढाइरहेका छौँ । हिजो रोक भन्दा हामीले रोकेको हो । आज गर भन्दा हामीले गरेको हो । यो हाम्रो नियमित प्रक्रिया हो । त्यही अनुसार हामी अगाडी बढेको हो । हामीले आदेशको पालना गर्ने हो । कानूनभन्दा माथि कोही छैन । हामीले कानूनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ । उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ ।’ 

उनले थपे, ‘उहाँहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गर्नुभयो भने उहाँहरुले कानूनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ । हामी कानुनमा स्ट्रिक छौँ । कानुनभन्दा बाहिर देख्दै देख्दैनौँ । परिपालना गर्ने कुरामा सधैँ यसरी नै अगाडी बढ्छौँ । शान्ति, सुव्यवस्था, सुशासन कायम गर्ने जिम्मा नेपाल सरकारको हो । आज प्रश्न के उठेको छ भने दुई तिहाइको सरकारको आज हैसियत परीक्षण हो । जनताको सर्वोपरि हित हुने, सुव्यवस्थासँग, शान्ति सुरक्षासँग जोडिएको विषय दुई तिहाइको सरकारले सुरक्षा गर्न सक्ने कि नसक्ने भन्ने कुरा गहन रुपमा उठेको छ । सरकारको टेस्ट हो । हामीले पब्लिकसँग छलफलमा जाने होइन । केही भयो भने शान्ति सुरक्षाको जिम्मा गृह प्रशासन र नेपाल सरकारको हो ।’ 

शाहले महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने काम नरोक्ने स्पष्ट पारे । 

Advertisement