मुलकोट र हलेसीमा एक अर्ब लगानीका रिसोर्ट सञ्चालन,  एक दशकमा सय पुर्‍याउने पौवा ग्रुपको लक्ष्य

Advertisement

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालिले एक अर्ब रुपियाँ लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको हो ।

‘जहाँबाट आतिथ्यको सुरूजात हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोड रुपियाँको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

Advertisement

पछिल्लो समय होटल, रिसोर्ट, तारे र चेन होटल धमाधम सञ्चालन भइरहेका छन् । यसैक्रममा प्रालीले होटल र रिसोर्टमा लगानी बढाएको र आगामी १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य लिएको भण्डारीको भनाइ छ । हाल नेपालगञ्जमा १ अर्ब रुपियाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको र निकट भविष्यमा आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लैजाने कम्पनीको योजना रहेको उनले सुनाए ।

अध्यक्ष भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित होटलमा लगानी विस्तार गरिएको बताए ।

‘८ वर्षदेखि पर्यटन उद्योग विस्तार गर्नका लागि होटलमा लगानी गरिएको छ, काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य र सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खोलेकाएक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट हौँ,’ उनले भने ।

खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको सङ्गमस्थल भएकाले आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको दृश्यावलोकन गर्न सकिन्छ ।

यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपालको अनुपम आतिथ्यता संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले लगानी बढाएको बताए । पौवाले रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी क्षेत्रमा लगानी विस्तार गरेको हो । पौवाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको प्रबन्ध निर्देशक ज्ञवालीको भनाइ छ ।

उनकाअनुसार पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । त्यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिनेगरी सेवा प्रवाह गरिरहेको छ ।

Advertisement