फिर्ता बोलाइएका शर्मा पुनः भारतका लागि राजदूत सिफारिस, को को परे १८ नयाँ सिफारिसमा ?

Advertisement

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारतसहित १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा भारतबाट फिर्ता बोलाइएका शंकर शर्मा पनि छन् । 

नेकपा एमालेसहितको पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनीसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरे पनि अहिले एमालेसहितको नयाँ गठवन्धनको सरकारले पुनः शर्मालाई सिफारिस गरेको हो । उनी नेपाली कांग्रेस र भारतसँग नजिक मानिन्छन् । 

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । फिर्ता बोलाइएका राजदूतमा दाहाल नेतृत्वको सरकारको सिफारिसमा नियुक्त भएकाहरु हुन् । 

सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको जनाइएको छ । चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेल, श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको हो । 

मन्त्रिपरिषदले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो ।

अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरिएको छ । उनी यसअघि बेलायतका लागि राजदूत भइसकेका व्यक्ति हुन् । रेग्मी एमाले र पश्चिमासँग निकट मानिन्छन् । 

सरकारले पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ । पूर्ववर्ती सरकारले उनलाई एमालेको कोटामा अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको छ ।

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा नेत्र तिमल्सिना, पोर्चुगलका लागि सनिल नेपाललाई  सिफारिस भएका छन् ।

Advertisement

Advertisement