समस्यामा नै नपरेको संस्थालाई समस्याग्रस्त घोषणा गरेकोप्रति लालीगुराँस सहकारीको आपत्ति

Advertisement

काठमाडौं । समस्या नै नपरेको संस्थालाई समस्याग्रस्त घोषणा गरेकोप्रति पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आपत्ति जनाएको छ । 

संस्थाको निवर्तमान सञ्चालक समितिले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिका कारण बचत रकम फिर्ता लाने क्रम बढे पनि आफूहरुले क्रमसः फिर्ता गर्दागर्दै संस्थालाई समस्याग्र्रस्त घोषणा गरिएको गुनासो गर्दै उल्टै अनुसन्धानका नाममा संस्थाको कागजपत्र लथालिंग बनाउने काम गरेको बताएको छ । 

Advertisement

समस्याग्रस्त घोषणा गरेर संस्थाको ढोकामा ताला लगाउने काम भएको, तीन तीन पटक निवेदन दिँदा समेत छलफलका लागि सरकारी पक्षले नबोलाएको भन्दै लालीगुराँसले आफूहरुले सदस्यहरुको रकम फिर्ता गरी दैनिकरुपमा काम गरिरहेको अवस्थामा केही सदस्यले एकै पटक सम्पूर्ण रकम फिर्ताको मागसहित मौखिक उजुरी गरेको, ती सदस्यहरुसँग छलफल गराउन आग्रह गर्दा बेवास्ता गर्दै जबरजस्ती समस्याग्रस्त घोषणा गर्ने काम भएको बताएको छ । 

सहकारी विभागले संस्थाको सम्पत्तिको समेत  मूल्यांकन नगरी हतारमा समस्याग्रस्त घोषणा गर्न सहकारी मन्त्रालयलाई सिफारिस गरेको भन्दै लालीगुराँसले समस्याग्रस्त घोषणापछि संस्थामा ताला लगाउने काम भएको, आफूहरुले अनुसन्धानमा सहयोग गर्दै बोलाइएका सबै बैठकमा सहभागी भएको, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी दिन कार्ययोजना तयारी गरी तीन पटकसम्म निवेदन दिँदा समेत छलफलका लागि नबोलाइएकोमा दुःख व्यक्त गरेको छ । 

सो संस्थाले विगत तीन बर्षदेखि नेपालको वित्तीय बजारमा देखिएको तरलताको समस्याका बाबजुद पनि संस्थाले सदस्यहरुको बचत रकम फिर्ता गरी दैनिक कार्यलाई निरन्तरता दिँदै सञ्चालन गरेको तर केही सदस्यले उजुरी दिएको आधारमा समस्याग्रस्त घोषणा गरिएकोमा आश्चर्य प्रकट गरेको छ । लालीगुराँसले समितिका केही सदस्यसँग पटक पटक बसी आफूहरुलाई केही समय दिन आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नदिएको विज्ञप्तिमा जनाएको छ । 

विभागले सिफारिस गरेको आधारमा अध्ययन नै नगरी मन्त्रालयले  समस्याग्रस्त घोषणा गरेकोमा पनि संस्थाले असन्तुष्टि जनाएको छ । लालीगुराँसले सहकारी क्षेत्रमा समस्या देखिन थालेपछि पनि क्रमसः आफ्ना सदस्यहरुलाई रकम फिर्ता गर्दै आएको थियो । डेरी उद्योग, दुग्ध प्रशोधन उद्योग सञ्चालनका  साथै जलविद्युत आयोजना, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा समेत लगानी गरेको यस संस्थाले २५० जनालाई रोजगारी दिँदै आएको थियो । सहकारी संस्थामा सरकारले ताला लगाएपछि उनीहरुको रोजगारी अहिले संकटमा परेको छ । देशकै ठूलोमध्येको एक लालीगुराँस सहकारी आर्थिकरुपमा सबल भए पनि अहिलेको विषम परिस्थिति र सहकारी पक्षको असहयोगको भुमरीमा परेको छ । 

विज्ञप्तिः 

undefinedundefinedundefined
 

Advertisement