ल्होत्से शार चढ्ने पहिलो नेपाली पासाङ शेर्पाले चढे ब्रोड पिक

Advertisement

काठमाडौं । पर्वतारोहण गाइड पासाङ नामगेल शेर्पाले ब्रोड पिकको सफल आरोहण गरेका हुन् । पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण भएको छ ।  

शेर्पाले यही गएको साउन १२ मा ब्रोड पिक चढेको इमाजिन नेपाल ट्रेक्स कम्पनीका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनका अनुसार पासाङ नामगेल शेर्पा कम्पनीको वरिष्ठ पर्वतारोहण गाइड भएको बताउँदै सन् २००७ मा आठ हजार चार सय मिटर अग्लो ल्होत्से शारको चुचुरोमा पाइला टेक्ने एक मात्र नेपाली आरोही बनेका बताइन् । 

Advertisement

खुम्बु गाउँपालिकाका पासाङ शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वाट हिमालहरुको आरोहण गर्न चीनमा रहेको शिशापाङ्मा हिमालबाट सुरु गरेका थिए । सन् २००६ मा शिशापाङ्मा हिमालको सफल आरोहणपछि २०२४ मा ब्रोड पिकको सफल आरोहणसगैं उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालमा पाइला टेक्न सफल भएका छन् । 

उमेरले ५२ बर्ष पुगेका शेर्पाले विश्वका आठ हजार मिटर अग्ला चुचुरोहरु धेरै पटक आरोहण गरिसकेका छन् । पासाङ नामगेललाई ‘हिमालय टाइगर’ भनेर पनि चिनिन्छ । धेरैजसो दिग्गज कोरियाली पर्वतारोहीहरूसँग हिमाल आरोहण गर्ने उनलाई हिमालमा आफ्नो बहादुरी देखाएका कारण कोरियालीहरूले ‘हिमालय टाइगर’ भन्ने गर्दछन् । 

यसबाहेक, उनले कञ्चनजङ्घा हिमालको रेन्ज (सीमा)मा रहेको यालुङ खाङ (८,५०५ मिटर)को पनि आरोहण गरिसकेका छन् । कोरियाका अमहोङ गिल र पासाङ नामगेल शेर्पा मात्र दुई व्यक्ति हुन् जसले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए ।

Advertisement

Advertisement