प्रमलाई भेट्न उपत्यकाका मेयरहरु गए, बालेन गएनन्, प्राधिकरणले मनलाग्दी बिल पठायोः फोरम

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बुधबार काठमाडौं उपत्यकाका मेयरहरु गए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह गएनन् । 

उपत्यका मेयर्स फोरममार्फत उनीहरुले ओलीलाई भेटेका हुन् । टोलीमा काठमाडौं उपत्यकाकी उपमेयर सुनिता डंगोल गए पनि बालेन सहभागी नभएको जनाइएको छ । भेटमा फोरमका पदाधिकारी र सदस्यहरुले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको बताएका थिए । 

Advertisement

प्रधानमन्त्री ओलीले संघीयता बलियो बनाउनुपर्ने कुरामा जोड दिएका थिए । उनले ‘कोभन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय तहबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए । 

ओलीले मेयर बालेनतर्फ लक्षित गर्दै भने, ‘जनप्रतिनिधिले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन । सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’

Advertisement