हसिना भारततर्फ झुक्दा बंगलादेशका कट्टरपन्थीलाई राम्रो लागेको थिएनः डा. केसी

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक, प्राडा सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमा नलिएको बताए । 

केसीले भने, ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’ 

Advertisement

बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा चार सयभन्दा धेरैको ज्यान गएको बताइएको छ । 

बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको बताउँदै केसीले हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको बताए । उनले आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको बताए । 

हसिनाको कूटनीतिक दृष्टि भारततर्फ झुक्दा बंगलादेशका कट्टरपन्थीहरुलाई राम्रो नलागेको पनि केसीको तर्क छ । उनले अब नेपाली जनताले पनि आफूलाई परिमार्जन गर्न जरुरी रहेको बताए । डा केसीले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे । 

तर, उनले त्यस्तो प्रकारको जनभावनालाई ‘उत्तेजक दृष्टिकोण’ को संज्ञा दिए । केसीले नेपालीहरुले बंगलादेशको जस्तै दुर्घटना ननिम्त्यिाएर त्यसबाट पाठ सिक्नुपर्ने बताए । उनले भने, ‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ । किनभने हामीले धरै कुरा देख्यौं नि त । नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौं नि ।’ 

उनले थपे, ‘नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो । त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन् । मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ । त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो ।’ 
 

Advertisement