‘नेपालका नेताहरु पाखण्डी हुन, एकथोक बोल्छन्, अर्कोथोक गर्छन्’

बंगलादेशका लागि पूर्व नेपाली राजदूतको तर्क– हसिनाले कंगाल देशलाई विकसित बनाइन

Advertisement

काठमाडौं । बंगलादेशका लागि पूर्वनेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको दावी गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लबमा उनले हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको दावी गरे । मिश्रले भने, ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैं पनि बलिदानी परिवारको छोरी हुन् ।’

Advertisement

केही बंगलादेशीामा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले अहिलेको घटना घट्न पुगेको बताउँदै उनले आरक्षणको कारणले अहिलेको घटना नभएको दाबी गरे । मिश्रले भने, ‘यो कुनै आरक्षण र युवा विद्यार्थीको कारणले भएको घटना होईन । विद्यार्थी निहुँ भए ।’

हसिनाको पालामा बंगलादेशले मुहार फेरे पनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको भनाई छ । उनले  बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए ।  सरकारको विरुद्धमा लेख्नेहरु बेपत्ता बनाइने र महिनौंपछि लाश फेला पर्ने जस्ता घटना बंगलादेशमा भइरहेने मिश्रले बताए । 

उनले भने, ‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । वुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो ।’

साथै, बंगलादेशको सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको मिश्रले सुनाए । नेपाली विद्यार्थी बंगलादेश अध्ययनको क्रममा जाँदा एयरपोर्टदेखि नै पीडित हुनुपरेको बताउँदै उनले सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको बताए । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकता मात्रै रहेको बताए । 

साथै, नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक परिवर्तन हुन नसकेको मिश्रले स्वीकार गरे । उनले नेपालका नेताहरु एकदमै पाखण्डी बनेको, एकथोक बोलेर अर्कोथोक गरेको आरोप लगाउँदै बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने बताए । 

Advertisement