शेयर कारोबार प्रभावित हुनेगरी अर्थ समितिमा बैठक, थापाको विरोध

Advertisement

काठमाडौं । संसदको अर्थ समितिले शेयर बजार प्रभावित हुनेगरी सोही विषयमा छलफल राख्दा बजारका त्यसको असर देखिएको छ । 

समितिले शेयर बजारमा कडाई गर्नुपर्ने निर्देशन दिनसक्ने आशंकामा लगानीकर्ता सशंकित भएका छन् । कारोबारको पुर्वाधमा शेयर बजार परिसुचक नेप्से २८ सय अंक पार गरे पनि उत्तरार्धमा ओरालो लागेको छ । 

Advertisement

यसअघि संसद बैठकमा स्वतन्त्र साँसद अमरेशकुमार सिंहले चलखेल गरी केही व्यक्तिले शेयर बजार बढाउने र नाफा गर्ने काममा लागेको भन्दै कडा अभिव्यक्ति दिएपछि त्यसको भोलिपल्ट शेयर बजारमा भारी गिरावट आएको थियो । 

शेयर बजारमा चलखेल गरी कमजोर कम्पनीहरुको समेत मूल्य अस्वाभाविकरुपमा बढाउने प्रवृत्तिका कारण विरोध हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकिङ क्षेत्रको शेयरमा सुधार आउनु स्वाभाविक भए पनि धेरै कम्पनीको शेयर भने कृतिम ढंगले बढाउने र घटाउने खेल पहिलेदेखि हुँदै आएको छ । 

आजको अर्थसमितिको बैठकमा पनि अमरेशकुमार सिंहलगायतका साँसदले शेयर बजारको कुरा उठाउनसक्ने र समितिले निर्देशन दिनसक्ने देखिएपछि त्यसको छायाँ कारोबारमा देखिएको छ । यद्यपि बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले शेयर बजार चलिरहेको समयमा अर्थ समितिले यसै बिषयमा छलफल गर्नु गलत हो भन्दै आपत्ति जनाएको समाचार एक अनलाइन संस्करणले प्रकाशित गरेको छ । 

समितिको बैठकमा उनले शेयर कारोबार भइरहेको समयमा किन बैठक बसेको ? भनि प्रश्न गरेका थिए । धितोपत्र ऐनको दफा ९५ र ९६ मा बजारलाई कसैले पनि प्रभावित पार्न नहुने व्यवस्था रहेको भन्दै थापाले शेयर कारबोर भइरहेको समयमा बैठक बसेर प्रभावित गर्न नमिल्ने बताएका थिए ।

Advertisement