यो प्रणाली हामीले लडेर, जेलनेल भोगेर ल्याएको होः ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुननसक्ने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर, जेलनेल भोगेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वोपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको बताए । 

Advertisement

ओलीले भने, ‘यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ  र सपथ लिएका छौँ । वाचाबन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ  । तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ ।’

उनले थपे, ‘संविधान संशोधनीय दस्तावेज हो । लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिन्छ । तर यो संविधानको अवयवका रुपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन । संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ ।’

प्रधानमन्त्री ओलीले गन्तव्यबिहीन आन्दोलन र समाज भड्काउने प्रयासबाट कहीँ नपुगिने भन्दै यस व्यवस्था कार्यान्वयनका केही कमजोरीका विषयलाई अतिरञ्जना गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति उपयुक्त नभएको बताए । उनले यस मामिलामा सरकार सहज रहेको जनाए । ओलीले सदनमा सांसदहरुले अभिव्यक्ति दिँदा अरुले अनुशरण गर्न मिल्ने गरी दिनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराए । 

Advertisement