तेह्र जीवन बीमा कम्पनीको नाफा पाँच अर्ब ५८ करोड, अघिल्लो वर्षभन्दा १३.५२ प्रतिशतको बृद्धि

Advertisement

काठमाडौं । गत आर्थिक २०८०-८१ मा १३ वटा ठूला जीवन बीमा कम्पनीले पाँच अर्ब ५७ करोड ९६ लाख ३४ हजार रुपियाँ नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठूला जीवन कम्पनी सञ्चालनमा छन् । 

ती मध्ये बुधबारसम्म राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक १३ कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोही विवरणले उनीहरुको खुद नाफा सो बराबरको देखाएको हो । 

Advertisement

कम्पनीहरुको यो नाफा अघिल्लो आव २०७९–८० को तुलनामा १३.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा उनीहरुको नाफा चार अर्ब ९१ करोड ४७ लाख १३ हजार रुपियाँ थियो । 

कम्पनीहरुको यो नाफा बीमांकीय मुल्यांकन भन्दा अघिको हो । जीवन बीमा कम्पनीको बीमांकीय मुल्याकनमा बीमांकीले जीवन बीमा कोषमा भएको १० प्रतिशत रकम नाफा नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ । 

समीक्षा बर्षमा हिमालयन लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले ६३ करोड ३८ लाख ५८ हजार रुपियाँ नाफा कमाएको हो । 

दोस्रो नम्बरमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले अघिल्लो आवमा ५७ करोड ४९ लाख ६७ हजार नाफा कमाएको छ । तेस्रो स्थानमा भने आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । 

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले ५१ करोड ३९ लाख ८२ हजार, मेट लाइफ इन्स्योरेन्सले ५० करोड ४१ लाख ४३ हजार, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले ४२ करोड ६३ लाख ५८ हजार र नेशनल लाइफ इन्स्योरेन्सले ४० करोड ६३ लाख ५८ हजार रुपियाँ नाफा कमाएको छ । 

यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३९ करोड ६५ लाख ३७ हजार, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३६ करोड ६१ लाख ७४ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३५ करोड आठ लाख २४ हजार, एसियन लाइफ इन्स्योरेन्सले ३२ करोड ८५ लाख ९१ हजार, सिटीजन्स लाइफ इन्स्योरेन्सले ३२ करोड ४७ लाख ७९ हजार र एलआईसी नेपालले २३ करोड ८५ लाख छ हजार रुपियाँ नाफा कमाएको छ । 

बीमांकीय मुल्यांकनका क्रममा कम्पनीहरुको नाफा थप बढ्ने छ । आर्थिक शिथिलताका बीच पनि बीमा कम्पनीहरुको नाफा बढ्न गएको हो । 

undefined
 

Advertisement