पर्यटन मन्त्री पाण्डेद्वारा पासाङ नामगेललाई स्वागत तथा बधाई

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई बधाई दिएका छन् । 

मन्त्री पाण्डेले आज (शुक्रबार) मन्त्रालयमा बोलाएर उनलाई बधाई दिएका हुन् । विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र नेपालमा रहेको यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल शेर्पाले आरोही कल्याणकारी कोषको स्थापना गरिदिन मन्त्री पाण्डेसँग माग गरेका थिए । 

Advertisement

उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलिकप्टरबाट उद्दार हुन गाह्रो हुने बताउँदै त्यसको विकल्पमा आवश्यक प्रवन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम्प–२ बाट आठ केजी फोहर अनिवार्य ल्याउनु पर्ने प्रावधानलाई सहज बनाइदिन आग्रह गरेका थिए । 

शेर्पाले भने, ‘मैले पाकिस्तान, तिब्बतलगायतका अरु धेरै देशको अनुभव गर्दाखेरी हिमालमा सम्पर्क अधिकृतहरु आरोहीसँगै जान्छन् । हिमालमा आरोहीहरुलाई केही समस्या भइहाले बुझ्छन् । तर हामीकहाँ विदेशीहरुलाई के समस्या भइहाले सम्पर्क अधिकृत भेटिदैन ।’ उनले पर्यटन मन्त्रालयबाट अनुमति पाएपछि मात्र हलिकप्टर उद्दारमा जाने हुँदा दुर्घटनामा परेका आरोहीहरुको ज्यान गइसकेको हुन्छ भने । 

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने बताएको जनाइएको छ । 

Advertisement

Advertisement