दमकको टावर भ्यु टावर होइन्, विजनेश कम्प्लेक्स होः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दमक वरपरका व्यापारिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले दमक नगरपालिका– ३ मा दमक बिजनेस कम्प्लेक्स निर्माण गरेको तर्क गरेका छन् । 

फजुल खर्च गरेर भ्यु टायर बनाएको भन्दै चर्को आलोचना भएपछि बिहीबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले यसलाई उक्त टायर भ्यू टावर नभई व्यापारिक भवन भएको तर्क गरेका हुन् ।    

Advertisement

करिब ५ विगाह क्षेत्रफलको जग्गामा दमक बिजिनेस कम्प्लेक्सको रूपमा यस भवनको परिकल्पना गरिएको थियो भन्दै ओलीले यो योजनाको नाम दमक भ्यू टावर भएता पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी भवनको डिजाइन भएको तर्क गरे । 

टावरको लागत रू. १ अर्ब ७९ करोड  ४८ लाख रहेको छ । सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको उनले बताए । ओलीले यसभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनी कक्ष, विभिन्न स्थानीय जातिको संस्कृतिसँग सम्बन्धित संग्र्रहालय समेत रहनेगरि सञ्चालनमा ल्याइने बताए । 

निकट भविष्यमा यस क्षेत्र वरपर व्यवस्थित वस्ती विकासको माध्यमबाट स्थानीय तथा बाह्य क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको बताउँदै प्रम ओलीले दमक बजार, उर्लाबारी, मधुमल्लालगायतका बजारबाट सहज आवतजावत हुने गरी सडक सञ्जाल विकास गरिने बताए । 

आगामी दिनमा यस भवनको व्यापारिक उपयोग तथा सञ्चालनबाट यसको लागत असुली हुनका साथै दीर्घकालीन रूपमा यसले स्थानीय रोजगारी सिर्जना गर्ने उनले बताए । ओलीले यो निर्माणलाई नकारात्मक रुपमा प्रचार गरेर बालुवामा पानी हालियो भन्ने कुराहरुमा यथार्थमा आधारित नभएको बताए । 
 
त्यसैगरी, प्रम ओलीले कीर्तिपुर रङ्गशाला निर्माणको प्रगति विवरण माग गरेको सम्बन्धमा कीर्तिपुर खेल मैदानलाई ३०० दिनभित्र रङ्गशाला बनाउने गरी द्रूत गतिमा काम गर्न आफू नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्णय गरेको बताए । सोहीबमोजिम पहिलो ३०० दिनमा अति आवश्यक  पूर्वाधार र सुविधासहित अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्नेगरी निर्माणको तयारी गरिएको ओलीको भनाई छ । 

रङ्गशालालाई नौ वटा क्षेत्रमा विभाजन गरी पूर्वाधार निर्माण गर्न कार्ययोजना तयार भएको उनले बताए । ओलीले हालसम्म रङ्गशाला क्षेत्रको टोपोग्राफी सर्भे गर्ने कार्य सम्पन्न भएको, अवधारणा नक्सा तयार गरेर संरचनाका लागि डिपिआर तयार गर्ने, खरीद प्रक्रिया र निर्माण गर्ने कार्य द्रूत प्रक्रियाबाट सम्पन्न गर्ने गरी तयारी गरिएको बताए । 

निर्माण कार्यलाई आवश्यकताअनुरूप २ वा ३ सिफ्टमा गर्नेगरी ठेक्का बन्दोबस्त  हुने उनको भनाई छ । ओलीले यस कार्यका लागि अर्थ मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय र अन्य सरोकारवाला सबै निकाय पूर्ण परिचालन भएको र प्रधानमन्त्री कार्यालयले आवश्यक संयोजन गरिरहेको बताए । 

प्रम ओलीले सार्वजनिक सेवा प्रवाहमा अनियमितता र ढिलासुस्ती हटाउन प्रविधिको प्रयोग गर्ने सम्बन्धमा सरकारको यसको प्रक्रियालाई सरलीकरण गर्ने, एउटा निकायमा पेश गरेको कागज अर्को निकायमा दिनुनपर्ने, सेवाग्राही दौडन नपर्ने तर डाटा स्वतः दौडिने गरी विद्युतीय प्रणालीहरूबीच एकीकरण गर्ने, घरबाटै धेरैभन्दा धेरै सेवा लिनसक्नेगरी फेललेस सेवा प्रवाह गर्ने र विकास निर्माणको अनुगमन मुल्याङ्कनमा प्रविधिको प्रयोग गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए छ । 

नागरिक एपबाट सवारी चालक अनुमतिपत्र व्यवस्थापन गर्ने र यसलाई राष्ट्रिय परिचयपत्रसँग आवद्धता गर्ने काम अगाडि बढाइसकिएको ओलीको भनाई छ । केही समयपछि नै त्यो प्रयोगमा आउने उनले बताए । 
 

Advertisement

Advertisement