बाढीले बगायो गाडी, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

Advertisement

म्याग्दी । वर्षाले बेनीबजार आसपासका क्षेत्रमा क्षति गरेको छ । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जीपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१, हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए ।

बेनी नगरपालिका–८, कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिरोका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिंगा, घुमाउनेमा, मालढुंगा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

Advertisement