बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन

Advertisement

बलेवा । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उनले बताए ।  घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । 

Advertisement

रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौं जानुभएको जानकारी पाएको उनले बताए ।  

दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताए ।  

Advertisement