अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ

Advertisement

बेइजिङ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ । 

संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

Advertisement

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।” 

सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने छन् । 

सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले विगत दुई वर्षमा चीनको भ्रमण गरेका छन् ।

“ताइवान मुद्दा अमेरिका–चीन सम्बन्धमा विवादको पहिलो रातो रेखा हो र ‘ताइवानको स्वतन्त्रता’ ताइवान स्ट्रेटमा शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो,” सीसीटीभीले भनेको छ ।

“अमेरिकाले एक चीन सिद्धान्त र तीन संयुक्त विज्ञप्ति र फरक फरक समयमा गरिएका अमेरिका–चीनबीच भएका सहमति पालना गर्नुपर्छ र ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा स्वशासित टापु ताइवान र मानव अधिकार, व्यापार र दक्षिण चीन सागरजस्ता अन्य फ्ल्यासप्वाइन्ट मुद्दाहरूलाई लिएर विवाद बढेको छ ।

गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र शमकक्षी सी चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको सम्बन्ध केही हदसम्म स्थिर भएको छ । 

सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले युद्धपोत, क्षेप्यास्त्र र लडाकू विमानसहितको ताइवानमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो । रासस–एएफपी  

Advertisement