जब सांसद्ले आफ्नो उद्धार गर्न  चिठी पठाइन्...

Advertisement

म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर बिरामी परिन् । 

टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बसेकी गौचनको टोलीलाई नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उद्धार गरेको थियो ।

Advertisement

‘दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो,’ उनले भनिन्, ‘मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।’

प्रदेशसभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उनले बताइन् । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनको भनाइ छ । 

दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेशसभा सदस्य गौचनले भनिन् । 

कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् । दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो ।

मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्डवरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् । रासस
 

Advertisement