एनसेलले पायो ४ किस्तामा लाइसेन्स नवीकरणको सुविधा, १० प्रतिशत ब्याज तिर्नुपर्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण शुल्क तिर्न किस्ता सुविधा पाएको छ । 

सरकारले एनसेललाई लाइसेन्स नवीकरण शुल्कबापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४ किस्तामा शुल्क तिर्ने सुविधा दिएको हो ।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पहिलोकिस्ता बाहेक दोस्रो, तेस्रो र चौथो किस्ताको रकममा भने १० प्रतिशत ब्याज लिने निर्णय गरेको हो । एनसेलले लाइसेन्स नविकरणका लागि २० अर्ब रुपियाँ तिर्नुपर्नेछ ।

जसमध्ये पहिलो किस्ताबापतको चार अर्ब रुपियाँ भुक्तानी गर्दै गत जेठ १४ मा नविकरणका लागि निवेदन दिएको थियो । सरकारले एनसेलको माग बमोजिम किस्ताबन्दी सुविधा दिएको हो । तर, किस्ताबन्दीमा ब्याज तिर्नुपर्ने गरी सरकारले नयाँ सर्त राखेको हो ।

किस्ताबन्दीमा रकम बुझाउँदा एनसेलले वार्षिक १० प्रतिशत ब्याज तिर्नुपर्ने छ । एकमुष्ट २० अर्ब १३ करोड रुपियाँ तिरे पुग्नेमा अब किस्ताबन्दीको सुविधामा ब्याज जोड्नुपर्नेछ ।

Advertisement