निजी क्षेत्रलाई उपेक्षा गर्दा चार्जिङ स्टेशन विस्तार सुस्त

Advertisement

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै नेपालमा १३ हजार २०६ वटा (चारपांग्रे) आयात भए । अघिल्लो आव २०७९÷८० मा चार हजार ५१३ वटा ईभी आयात भएको थियो । नेपालमा नबन्ने भएपछि ईभी विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ । यसरी आयात बढ्दा नेपालमा ईभीको प्रयोग बढ्दै गएको पुष्टी हुन्छ ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै शून्य कार्बनमा जान अहिले विश्वमै स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने दबाब छ । लामो समयदेखि विश्वमा पेट्रोल, डिजेल र अन्य जीवाश्म इन्धनबाट चल्ने गाडी प्रयोगमा छन् । कोइला तथा डिजेल पावर प्लान्ट, उद्योग कलकारखनाले पनि वातावरणलाई प्रभावित बनाइरको छ । त्यसबाहेक जीवाश्म इन्धनबाट चल्ने गाडीबाट निस्कने कार्बनले पनि वातावरणलाई प्रभावित बनाइरहेको छ । 

Advertisement

सोही अवस्थालाई दृष्टिगत गर्दै विश्वका अधिकांश मुलुक सम्भव भएसम्म सबै क्षेत्रमा स्वच्छ ऊर्जा प्रयोग गर्ने योजनामा अघि बढेका छन् । सोहीक्रममा अहिले संसारभर नै ईभीको प्रयोग बढ्दो छ । नेपालमा पनि यसको प्रयोग बढ्दै गएको आयातको तथ्यांकले पुष्टि गरेको छ । सन् २०४५ सम्म शून्य कार्बनमा जाने भनेर अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको नेपालले अहिले स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिन थालेको छ । साथै, ईभीको प्रयोगलाई पनि सरकारले बढावा दिइरहेको छ 

पेट्रोलियम गाडीको तुलनामा ईभीमा लाग्ने करको दर कम गरिएको छ । साथै, ईभी खरिद गर्दा बैंकबाट पनि ८० प्रतिशतसम्म फाइनान्सिङ (कर्जा)को सुविधा पाइने व्यवस्था गरिएको छ । पेट्रोलियम गाडीमा ५० प्रतिशत मात्रै कर्जा सुविधा पाइने नीति छ । तर ईभीको हकमा २० प्रतिशत डाउनपेमेन्ट (खरिदकर्ताले तिर्ने मूल्यको हिस्सा) अर्थात् ८० प्रतिशत कर्जा सुविधा दिन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । सोहीअनुसार अहिले बैंकहरुले २० प्रतिशत डाउनपेमेन्टमै ईभीमा कर्जा प्रवाह गरिहेका छन् । 

तर यसको बिस्तारमा चार्जिङ स्टेशनले भने केही अवरोध सिर्जना गरेको छ । ईभीका लागि चार्जिङ स्टेशन अपरिहार्य हो । जसरी पेट्रोलियम गाडीका लागि पेट्रोल पम्प अपरिहार्य हो, त्यसरी नै ईभीका लागि चार्जिङ स्टेशन अपरिहार्य छ । ईभीलाई छिटो र छरितोरुपमा चार्ज गर्न उच्च क्षमताको विद्युत् आपूर्ति हुने स्टेशन आवश्यक छ । घरमा पनि सामान्यरुपमा ईभी चार्ज गर्न सकिने भए पनि छिटोछरितो भने हुँदैन । त्यस्तो अवस्थामा ईभी चार्ज गर्न चार्जिङ स्टेशनको अपरिहार्यता छ । पर्याप्त मात्रामा चार्जिङ स्टेशन नहुँदा ईभीधनीहरुलाई झन्झट भइरहेको छ ।  

नेपाल विद्युत् प्राकिरणका अनुसार हालसम्म नेपालमा ४५०÷५०० हारहारीमा चार्जिङ स्टेशन बनेका छन् । त्यसमा चौधरी समूह एक्लैले दुई सय वटा बनाइसकेको छ भने प्राधिकरणले ६२ वटा बनाएको छ । अरु चार्जिङ स्टेशन निजी क्षेत्रका अन्य संस्थाले  बनाएका हुन् । आम विद्युतीय सवारीधनीले चार्जिङ स्टेशन नेपाल नामक वेभसाइटमा गएर चार्जिङ स्टेशनको जानकारी पनि लिन सक्छन् । यद्यपि, चार्जिङ स्टेशनको यो संख्या पर्याप्त भने होइन । प्राधिकरणले काठमाडौंको रत्नपार्कस्थित आफ्नो केन्द्रीय कार्यालयमा चार्जिङ स्टेशन बनाएको छ । तर त्यहाँ गाडी चार्ज गर्न पालो कुर्नुपर्छ । त्यसमाथि ईभी चार्ज गर्न पनि समय लाग्छ । पेट्रोलियम गाडीमा मिनेटमै पेट्रोल हालेजस्तो हुँदैन । उच्च क्षमताका चार्जिङ स्टेशन नहुँदा सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म कुर्नुपर्ने बाध्यता छ । चार्जिङ स्टेशन देशभर पर्याप्त नहुँदा नहुँदा ईभीधनीले सास्ती पाइरहेका छन् । नेपालमा कति चार्जिङ स्टेशन आवश्यक पर्छ भनेर अध्ययन हुन भने बाँकी नै छ । 

यस्तै, ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जीले १७ वटा र ई–स्टोपले ६ वटा चार्जिङ स्टेशन निर्माण गरेका छन् । साझा यातायातले पनि ललितपुरको पुल्चोकमा गत चैतदेखि ११ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । त्यहाँको एउटा चार्जिङ स्टेशनमा एकै साथ दुईवटा गाडी चार्ज गर्न सकिन्छ । त्यसअनुसार त्यहाँ एकै साथ २२ वटा गाडी चार्ज गर्न सकिन्छ । यस्तै, सन्दर यातायात, एमजी, टाटा, बीवाईडी, सीजी, थ्री गो, हुन्डाई, इलेक्ट्रिभा, डीएफएसकेलगायतका कम्पनीले पनि चार्जिङ स्टेशन बनाएका छन् । तर उनीहरुले बनाएको चार्जिङ स्टेशनमा अरु ब्राण्डको गाडी चार्ज गर्न मिल्दैन । एक प्रकारको सिन्डिकेटजस्तो छ । त्यो अवस्थामा चार्जिङ स्टेशन छुट्टै व्यक्ति तथा कम्पनीबाट व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने विज्ञहरु बताउँछन् । त्यसरी चार्जिङ स्टेशन बनाएमा सेवाग्राहीलाई सहयोग पुग्ने विश्वास गरिएको छ । 

मोबाइल चार्जिङ स्टेशन 
नेपालमा पहिलोपटक मोबाइल ईभी चार्जिङ स्टेशन सञ्चालनमा आइसकेको छ । ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जीले बनाएको  मोबाइल चार्जिङ स्टेशन गत चैतदेखि सञ्चालनमा छ । कुल ३० किलोवाट क्षमताको यो चार्जिङ स्टेशन आवश्यकताअनुसार अर्को ठाउँमा लगेर ईभी चार्ज गर्न सकिन्छ । बाटोमा चार्ज सकिएको खण्डमा वा गाडी अलपत्र परेको बेला यो बढी उपयोगी हुनेछ । यो मोबाइल चार्जिङ स्टेशनले एउटा कार पूर्णरुपमा चार्ज गर्न सक्छ ।

निजी क्षेत्रलाई प्रोत्साहन जरुरी
नेपालमा चार्जिङ स्टेशनको निर्माणमा भने लहर नै आएको छ । नेपाल प्रहरीले २५ र सशस्त्र प्रहरीले १७ वटा चार्जिङ स्टेशन बनाउँदै छन् । उनीहरुले यसअघि नै सञ्चालन गरेको पेट्रोल पम्प परिसरमै चार्जिङ बन्दैछ । लगानी बोर्ड पनि ४२४ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा उक्त चार्जिङ स्टेशन बनाउने तयारी छ । यसैगरी, अन्य निकाय तथा कम्पनी पनि चार्जिङ बनाउने गरी प्राधिकरणमा आवेदन दिइरहेका छन् । 

एउटा चार्जिङ स्टेशन बनाउन कम्तीमा एक हजार दुई सय वर्ग मिटर जग्गा आवश्यक पर्छ । चार्जिङ स्टेशन सञ्चालन गर्न ४३० किलोवाट विद्युत् आवश्यक पर्छ । त्यसले दुई ठूला र तीन सानो गाडी एकैपटक चार्ज गर्न सकिन्छ । नेपालमा चार्जिङ स्टेशन निर्माण गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७६ मै कार्यविधि बनाएको थियो । तर अब प्राधिकरण भने थप चार्जिङ स्टेशन बनाउने योजनामा छैन । अब निजी क्षेत्रलाई नै प्रोत्साहन गरिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् । उनी भन्छन्, ‘अब हामी निजी क्षेत्रलाई नै ईभी चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गर्छाैं । सायद, अब प्राधिकरणले थप चार्जिङ स्टेशन बनाउने छैन ।’ निजी क्षेत्रले ईभी चार्जिङमा प्राधिकरणले तोकेको महशुलमा २० प्रतिशत मात्रै बढी शुल्क लिन पाउने व्यवस्था छ । यो शुल्कले गरेको लगानीमा कुनै प्रतिफल नहुने निजी क्षेत्रको भनाई छ । चार्जिङ स्टेशन सञ्चालन गर्न छुट्टै महशुल दर निर्धारण गरिनुपर्ने निजी क्षेत्रको माग छ । 

निजी क्षेत्रलाई प्रोत्साहन गछौंः ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि चार्जिङ स्टेशनजस्ता पूर्वाधार बनाउन नीतिगत रुपमै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालमा विद्युत्को खपत अझै बढाउन आवश्यक छ । त्यसको एउटा विकल्प विद्युतीय गाडी पनि हो । नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । तर, त्यसलाई आवश्यक पर्ने चार्जिङ स्टेशनजस्ता पूर्वाधार बनाउन प्राधिकरण एक्लैले सक्दैन होला । यस्ता पूर्वाधार निर्माणमा निजी क्षेत्रको आवश्यकता बढ्दै गएको छ । नीतिगतरुपमै चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ । यसमा सरकार सकारात्मक छ ।’

कति छ अहिलेको चार्जिङ शुल्क ? 
विद्युत प्राधिकरणले चार्जिङ स्टेशनका लागि २०७८ मै महशुल दर तोकेको थियो । त्यसमा सार्वजनिक र अन्य (निजी)लाई फरक फरक दर तोकिएको छ । साथै, हिउँद र बर्खाका लागि पनि फरक फरक महशुल दर तोकिएको छ । सार्वजनिक यातायाततर्फ वैशाखदेखि मंसिरसम्मलाई लाइनको क्षमता, भोल्टेज र समयअनुसार फरक फरक दर तोकिएको छ । ३३ केभी क्षमताको लाइनमा बनेको चार्जिङ स्टनेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ८.४०, अफ पिक आवर (राति ११ बजेदेखि बिहान ५ बजेसम्म) मा ४.४५ र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) मा ६.६० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ ।

यस्तै, ११ केभीको लाइनबाट बनेको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ८.६०, अफ पिक आवर (राति ११ बजेदेखि बिहान ५ बजेसम्म) मा ५.०५ र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) मा ६.७० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ । तल्लो भोल्टेज (२३०÷४०० भोल्ट) मा बनेको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ८.७०, अफ पिक आवर (राति ११ बजेदेखि बिहान ५ बजेसम्म) मा ५.०५ र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) मा ६.९० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको  छ । 

पुसदेखि चैतसम्मका लागि छुट्टै महशुल दर तोकिएको छ । त्यसमा ३३ केभीको लाइनबाट बनेको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ८.४० र अन्य समय (राति ११ देखि भोलिपल्ट साँझ ५ बजेसम्म) मा ६.६० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ । ११ केभीको लाइनबाट बनेको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ८.६० र अन्य समय (राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म) मा ६.७० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ । तल्लो भोल्टेजको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) ८.७० र अन्य समयमा ६.९० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ । 

यता, निजी ईभी चार्ज गर्न लागि पनि छुट्टै महशुल दर तोकिएको छ । त्यसमा वैशाखदेखि मंसिरसम्मलाई समय, लाइनको क्षमता र भोल्टेजको आधारमा छुट्टाछुट्टै दर तोकिएको छ । उक्त समयमा ३३ केभी लाइनमा बनेको स्टेशनमा चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ११.२०, अफ पिक आवर (राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म) मा ४.४५ र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) मा १०.१० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको छ । ११ केभीको लाइनबाट बनेको स्टेनशबाट चार्ज गर्दा पिक आवर (साँँझ ५ बजेदेखि राति ११ बजेसम्म) मा ११.६०, अफ पिक आवर (राति ११ बजेदेखि बिहान ५ बजेसम्म) ५.०५ र अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म) मा  १०.२० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको छ । 

यस्तै, तल्लो भोल्टेजबाट बनेको स्टेशनबाट चार्ज गर्दा पिक आवरमा ११.७०, अफ पिक आवरमा ५.१५ र अन्य समयमा १०.३० रूपियाँ प्रतियुनिट महशुल तोकिएको छ । यसैगरी हिउँद (पुसदेखि चैतसम्म) लाई पनि छुट्टै महशुल तोकिएको छ । त्यसमा ३३ केभी लाइनबाट बनेको स्टेशनमा चार्ज गर्दा पिक आवरमा ११.२० रूपियाँ र अन्य समय (राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म) १०.१० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको छ । यसैगरी ११ केभी लाइनबाट बनेको स्टेशनमा चार्ज गर्दा पिक आवरमा ११.६० र अन्य समयमा १०.२० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको छ । तल्लो भोल्टेजको लाइनबाट बनेको स्टेशनमा पिक आवरमा ११.७० र अन्य समयमा १०.३० रूपियाँ प्रतियुनिट शुल्क तोकिएको छ । यो नेपाल विद्युत् प्राधिकरणले लिने शुल्क हो । निजी क्षेत्र आफंैले व्यावसायिक रुपमा बनाएको स्टेशनमा भने २० प्रतिशतसम्म थप शुल्क लाग्न सक्ने व्यवस्था छ ।

कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित लेख । 

Advertisement