पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेशासहितलार्ई सम्मान गर्दै एनसेल

Advertisement

काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो । 

Advertisement

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको जानकारी दिएको छ । कम्पनीले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभको भनाई उदृत गर्दै कम्पनीले भनेको छ, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ । 

Advertisement