पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक पदक

Advertisement

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक दिलाएकी हुन् । 

पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले काँस्य पदक दिलाइन् । रिपाचेजमार्पmत काँस्य पदकका लागि भएको प्रतिष्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन् । 

Advertisement

यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो । नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन । जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुशी आफूले बयान नै गर्न नसकिने बताए । 

देशलाई ऐतिहासिक पदक दिलाउन पाउँदा धेरै खुशी रहेको उनी बताउँछन् । लामो समयपछि लक्ष्य र तपस्या पूरा भएको उल्लेख गर्दै प्रशिक्षक लामाले ऐतिहासिक पदकसहित देश आउन आतुर रहेको बताएका छन् । पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन् । 

उनले राउण्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो शुरुवात गरेकी थिइन् । तर क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन् । यद्यपि उनले रिपाचेजमार्पmत काँस्य पदकको लागि भएको प्रतिष्पर्धामा सफलता प्राप्त गरिन् । 

पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन् । सन् २०२० पारालिम्पिकमा पनि उनी काँस्य पदकको प्रतिष्पर्धामा चुकेकी थिइन् । सन् २०१२ देखि तेक्वान्दोका खेलाडी यादव कुँवरले पारा तेक्वान्दो खेल्न शुरु गरेका हुन् । 

दक्षिण कोरियामा भएको दुर्घटनामा हात गुमाएपछि तेक्वान्दोकै खेलाडी यादवले पारा तेक्वान्दो खेल्न शुरु गरेका थिए । उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । 

हाल क्यानडामा रहेका यादवले पलेशाको सफलतासँगै जीवनको ठूलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । पारा तेक्वान्दोमा आफूले देखेको सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ । पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको बताए ।

Advertisement