कृषि कारखाना चलाउन किताब बेचरै २० करोड जोहो गर्दै महावीर पुन
फाइल तस्बिर ।

Advertisement

वीरगन्ज । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।  उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहेका छन् । उनले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहेका छन् । 

‘मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु,’ उनले भने, ‘बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका छौँ । त्यसैले अहिले देशव्यापी रुपमा पुस्तक बिक्री अभियानसहित हिँडिरहेको छु ।’ 
    
अध्यक्ष पुनले देशव्यापी रुपमा पुस्तक बिक्री गरेर कम्तीमा पनि कारखानाका लागि पुस्तकको छपाई खर्च कटाएर रु २० करोडको प्रबन्ध आफैँ मिलाउने बताउँछन् । ‘पुस्तक बेचेरै रु २० करोड उठाउने जिम्मेवारी आफैँ लिन्छु । तर त्यति रकमले मात्रै कारखानालाई चलायमान गराउन सकिँदैन,’ उनले भने, ‘मेरो अन्तर्राष्ट्रिय पदक र कास्कीको कालीकोटमा भएको २८ रोपनी जग्गा बेचेपछि कम्तीमा पनि रु १५ करोडजति आउँला होला अनि त्यो कारखाना चलिहाल्छ ।’ 

Advertisement

अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्र्ने हो भने कम्तीमा पनि रु ६०÷७० करोड खर्च गर्नुपर्ने बताउँछन् । ‘केन्द्र आफैँले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ,’ उनले भने, ‘सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।’ 

अध्यक्ष पुनले सोभियत सङ्घका पालामा सञ्चालनमा ल्याइएको कारखानामा निकै पुराना र म्यानुअल प्रकृतिका मेसिन रहेकाले पनि अत्याधुनिक खालका मेसिन थप गर्न आवश्यक रहेको जिकिर गर्छन् । 

‘कारखानामा ६ दशकभन्दा पुराना खालका उपकरण र औजार रहेका छन् । ती उपकरण र मेसिनको प्रयोग गरेर उत्पादन गरिने औजारले बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैनन्,’ उनले भने, ‘अहिले त कम्प्युटर प्रणालीबाट चल्ने खालका ‘सिएनसी’ खालका अत्याधुनिक मेसिन ल्याएर औजार उत्पादन गर्नुपर्ने हुन्छ ।’ केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन रु साढे नौ करोडभन्दा धेरै रकम सङ्कलन गरिसकेको छ । उनले कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य राखेका छन् ।  उनको एउटा पुस्तकको मूल्य भने रु सात सय ५० तोकिएको छ ।

तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्रै होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो । 

विसं २०५९ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै कारखाना दुई दशकसम्म कारखाना अलपत्र अवस्थामा रहिरह्यो । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखाना फेरि चर्चामा आएको हो । रासस

Advertisement