बजार सुस्त हुँदा असारमा मुद्रास्फीति घटेर ३.५७ प्रतिशत पुग्यो, गत बर्षको औसत ५.४४ प्रतिशत

Advertisement

काठमाडौं । गएको असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.५७ प्रतिशत पुगेको छ । गत बर्ष असारमा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।

आर्थिक मन्दीसँगै बजार सुस्त हुँदा महंगी पनि बढ्न नसकेको देखिन्छ । आर्थिक वर्ष २०८०–८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक
वर्षमा यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

Advertisement

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेकोछ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

Advertisement