आर्थिक गतिविधि घट्दा मुद्रास्फीति पनि ४.४० प्रतिशतमा झर्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा वार्षिक बिन्दुगतउपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशतमा झरेको छ । 

अघिल्लो वर्षको सोही महिनामा ७.४१ प्रतिशत रहेको मुद्रास्फीति यो बर्ष झरेर ४.४१ कायम हुनुको मुख्य कारण आर्थिक मन्दी देखिन्छ । आर्थिक क्षेत्र शिथिल हुँदा व्यापार व्यवसाय घट्नुका साथै उपभोग पनि घटेर गएको छ । मानिसहरुको क्रयशक्ति घट्दा खर्च गर्ने प्रवृत्ति कम भएर गएको हो । 

Advertisement

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।

वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८
प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

त्यस्तै, समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । 

वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८ प्रतिशत, ७.१५ प्रतिशत, ७.५७ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।

वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । 

यस अवधिमा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । 

Advertisement

Advertisement