काठमाडौं । आन्तरिक राजश्व विभागले नक्कली बिल बिजक किनबेच गर्ने विरुद्ध पुनः अप्रेशन थालेको छ । खासगरी नक्कली भ्याट बिल किन्ने र राजश्व छली गर्ने कम्पनीमाथि सुक्ष्म अध्ययन थालेको विभागले भ्याट बिल उपलब्ध गराउने कम्पनी वा त्यस्ता फर्ममाथि समेत कारबाही शुरु गरेको हो ।
‘सामानको होइन, पछिल्लो समय बिल बिजकको किनबेच गर्ने गिरोह सक्रिय भएको भेटेका छौं । यस्ता दर्जनौं कम्पनीहरुले अर्बौंको राजश्व छली गरेका छन् । यी कम्पनीमाथि विभागले अप्रेशन शुरु गरिसकेको छ’ विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर्पोरेट नेपालसँग भने ।
उनका अनुसार विभागले चलाएको अप्रेशनमा तीन दर्जन बढी कम्पनी तथा फर्महरु नक्कली भ्याट बिल खरीद बिक्रीमा संलग्न देखिएका छन् । तथापि, प्रारम्भिक अध्ययनका लागि विभागले तत्काल २५ वटा कम्पनीमाथि कारबाही शुरु गरेको छ ।
नक्कली भ्याट बिल खरीद बिक्रीमा बढीभन्दा बढी निर्माण कम्पनीहरुको संलग्नता देखिएको छ भने केही उद्योग, कलकारखाना, होटल तथा पर्यटन व्यवसायका कम्पनीहरु समेत छन् । यस्ता कम्पनीहरुबाट कम्तीमा पनि दुई अर्ब रुपियाँ बराबरको राजश्व चुहावट भएको हुनसक्ने विभागको राजश्व अनुसन्धान महाशाखाको अनुमान छ ।
महाशाखाका निर्देशक ध्रुव पोखरेल भन्छन्, ‘नक्कली भ्याट बिल खरीद बिक्रीमा संलग्न सयौं कम्पनीहरु छन् । तर, प्रारम्भिक अध्ययनका क्रममा विभागले २५ वटा कम्पनीलाई खास कारबाहीको दायरामा ल्याएको छ । यी कम्पनीहरुमाथि अहिले सम्बन्धित राजश्व कार्यायहरुमार्फत सुक्ष्म अध्ययन भइरहेको छ । यस्तो नक्कली भ्याट बिलको कारोबार कम्तीमा पनि दुई अर्ब रुपियाँ बराबरको भएको अनुमान छ ।’ अहिले ती कम्पनीहरुको नाम सार्वजनिक नगरौं भन्ने उनको आग्रह छ ।
कमजोर व्यक्तिको नाममा फर्म दर्ता, फर्जी बिल बिक्री
नक्कली बिलको कारोबार गर्न सक्रिय गिरोहले राजश्व छली गर्नकै लागि आफैले अर्को कम्पनी खडा गर्ने र बिल मात्र खरीद गर्ने गरेको अनुसन्धानमा भेटिएको छ । यस्ता गिरोहले कमजोर व्यक्ति (कर तथा कम्पनीको ज्ञान नभएको) नाममा कम्पनी खडा गर्ने र भ्याट बिल खरीद गर्ने गर्छन् ।
पोखरेलले भने, ‘कुनै निर्माण व्यवसायीले आफ्नो कारोबारबाट राजश्व छल्नकै लागि अर्को कमजोर कम्पनी खोलेर भ्याट बिल खरीद गर्नेगरेको भेटेका छौं । कम्पनीको सामान्यभन्दा सामान्य ज्ञान समेत नभएको कमजोर व्यक्तिको नाममा कम्पनी खोल्ने र उसैको कम्पनीबाट सामान खरीद गरेको र फर्जी बिल पेश गर्ने गरेको पाइएको छ । भ्याट बिल काट्ने कम्पनीको न त कुनै उत्पादन, न त कुनै सामानको खरीद बिक्री नै देखिन्छ । उसकोबाट बिल मात्र काटिएको भेटिएको छ ।’
मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार कुनै भ्याटमा दर्ता भएको कम्पनी वा फर्मले आफूले खरीद गरेको सामानमा तिरेको भ्याट आफूले गरेको कारोबारबाट कट्टा गर्न पाउने व्यवस्था छ । ऐनको दफा १७ को १ मा कर कट्टीसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको वा तिर्नुपर्ने करको रकम आफूले उठाएको करको रकमबाट कट्टी गर्न सक्नेछ ।’
यही व्यवस्थाका कारण व्यवसायी फर्म वा कम्पनीले राजश्व छली गर्न आफूले किन्दै नकिनेको र नलिएको सामानको पनि नक्कली भ्याट बिल बनाई (खरीद गरि) राजश्व छली गर्ने गरिएको भेटिएको विभागले जनाएको छ ।
यस्तो घटनाबाट भ्याट बिल खरीद गर्ने कम्पनीको हिसाब मिलान हुने तर, भ्याट बिल बेच्ने कम्पनीको कर दाखिला नै नहुने समस्या आएपछि घटनाको वास्तविकता बाहिरिएको हो । अहिलेको आन्तरिक राजश्व विभागको सफ्टवयरले यसरी कर छली गर्नेको कारोबार सहजै पत्ता लगाउन सक्छ । भ्याट बिलको रकम नियमित नतिर्ने कम्पनीहरुमाथि विभागले अनुसन्धान थालिसकेको बताउँदै निर्देशक पोखरेलले योसँगै नक्कली भ्याट बिल खरीद गरी राजश्व छली गर्ने कम्पनी तथा फर्महरु समेत स्वतः अनुसन्धानमा तानिने बताए ।
त्यसो त नक्कली बिल बिजक खरीद बिक्री विरुद्ध यसअघि नै कारबाही चलाएको विभागले गत आर्थिक वर्ष, २०८०–८१ मा दुई हजार ८२१ वटा फर्म तथा कम्पनीमाथि अनुसन्धान गर्दा ११ अर्ब पाँच करोड रुपियाँ बराबरको राजश्व छली भएको बताएको छ ।
आर्थिक वर्षभित्र आयकरतर्फ सात अर्ब २३ करोड रुपियाँ छली भएको बताएको विभागले भ्याटतर्फ तीन अर्ब ८५ करोड रुपियाँ छली भएको तथ्य पेश गरेको छ । चालु आर्थिक वर्षका लागि विभागले नक्कली बिलबिजक खरीद बिक्री विरुद्धको अनुसन्धानसँगै नक्कली अन्तःशुल्क स्टिकरको समेत अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । यस्तोमा आधा दर्जन बढी मदिराजन्य उद्योगहरु संलग्न रहेको विभागले जनाएको छ ।