समस्याग्रस्त र सार्वजनिकरुपमा प्रश्न उठेका ४० सहकारीमा सर्वसाधारणको ७१ अर्ब ३० करोड बचत

Advertisement

काठमाडौं । समस्याग्रस्त भएका २२ र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरी ४० सहकारी संस्थामा सर्वसाधारणको ७१ अर्ब ३० करोड ४३ लाख ३७ हजार रुपियाँ  निक्षेप भएको देखिएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको अन्तिम प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन प्रतिनिधि सभाले  शुक्रबार सार्वजनिक गरेको छ ।

Advertisement

संसदीय छानविन समितिले समस्याग्रस्त घोषणा भएका २२ सहकारी र सार्वजनिक रुपमा प्रश्न उठेका १८ सहकारी सस्थाको वित्तीय अवस्थाबारे पनि छानविन गरेको थियो । त्यस क्रममा समस्याग्रस्त कूल २२ सहकारी संस्थाहरूको कूल निक्षेप तथा बचत दाबी ४२ अर्ब ८१ करोड रुपियाँ देखिएको छ । 

त्यसमध्ये ११ वटा सहकारीको शेयर पूँजी एक अर्ब ९१ करोड रहेको छ । त्यसमा बचतकर्ताहरूको ऋण रकम यकिन गरी बाँकी भुक्तानी गर्नुपर्ने रकम निर्धारण गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । 

२२ मध्ये ११ सहकारीको एक अर्ब १३ करोड रुपियाँ नगद तथा बैंक मौज्दात देखिएको छ । त्यस मध्ये पनि आठ वटा सहकारीको दुई अर्ब ७३ करोड रुपियाँको लगानी, सात सहकारीको ३८ करोड ६७ लाख रुपियाँ बराबरको गैर बैंकिङ सम्पत्ति र १० सहकारीको सात अर्ब ९१ करोड रुपियाँ अन्य सम्पत्ति रहेको देखिन्छ । 

यस्तै, सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थाको कूल निक्षेप तथा बचत दायित्व रकम २८ अर्ब ४८ करोड रुपियाँ देखिएको छ । उनीहरुको शेयर पुँजी भने एक अर्ब ८९ करोड रुपियाँ देखिएको छ । 

ती सहकारीहरूको ९३ करोड ९४ लाख रुपियाँ नगद तथा बैंक मौज्दात र १५ करोड ९३ लाख रुपियाँ लगानी देखिएको छ । यसैगरी २९ करोड ६९ लाखको गैर बैंकिङ सम्पत्ति र चार अर्ब ५१ करोड रुपियाँ अन्य सम्पत्ति रहेको छ । 


 

Advertisement

Advertisement