‘सुपर एप’ बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

Advertisement

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । 

Advertisement

‘हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्, यसबाट ग्राहकलाई  सहजता हुनेमा हामीले विश्वास लिएका छौं’ उनले भने । थप गरिएका सेवाहरु हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन् ।

कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब पठाओ किराना, पठाओ खाजा घर र पठाओ गेम्स सेवा सुरुवात गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार पठाओ किराना अन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा  उपलब्ध हुने कम्पनीले जनाएको छ । पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ ।

तथापि, बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । अर्थात् बिक्रेताले पठाओ किराना र पठाओ खाजामार्फत भएको व्यापारको कमिसनवापत कुनै शुल्क बुझाउनु नपर्ने बस्न्यातले जानकारी दिए।

पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । पठाओ एपको होमपेजमार्फत कस्टमरहरूले गेम्समा जान सक्नेछन् । यी सबै सेवामार्फत ग्राहकलाई स्थानीयरुपमा इ–स्मार्ट बनाउने कम्पनीले अपेक्षा गरेको छ ।

हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ । सन् २०१८ सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपाल प्रालिले सन् २०१९ अगष्ट ९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।
 

Advertisement

Advertisement