मूल्य बढ्दै जाँदाको असरः भदौमा सुन आयात ‘शून्य’

Advertisement

काठमाडौं । व्यावसायिक रुपमा गरिने सुनको आयात भदौमा करिब शुन्य देखिएको छ । 

चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा १०० केजी १०५ ग्राम सुन आयात भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० ग्रामले मात्रै थपिएर १०० केजी १५५ ग्राम पुगेको छ । 

Advertisement

यस अनुसार भदौमा सुनको व्यावसायियीक आयात शुन्य रहेको पुष्टी हुन्छ । ५० ग्राम सुन भने कुनै व्यक्तिले आयात गरेको देखिन्छ । भन्सार बिभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

नेपालमा व्यावसायिक रुपमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरुलाई मात्रै छ । उनीहरुले दिनमा २० केजी सुन आयात गर्न पाउँछन् । तर, भदौमा उनीहरुले सुन आयात नगरेको संकेत तथ्यांकले गरेको छ । 

रकमका आधारमा भदौमा पाँच लाख २३ हजार रुपियाँको मात्रै सुन आयात भएको देखिन्छ । गत साउन मसान्तसम्म एक अर्ब चार करोड २७ लाख ६६ हजार रुपियाँको सुन आयात भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो पाँच लाख २३ हजार रुपियाँले थपिएर एक अर्ब चार करोड ४३ लाख ८९ हजार रुपियाँ पुगेको छ । 

गत आवको साउनमा दुई सय केजी र भदौमा तीन सय केजी गरेर दुई महिनामा ५०० केजी सुन आयात भएको थियो । त्यसको लागत मूल्य भने चार अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपियाँ थियो । त्योअनुसार चालु आवको दुई महिनामा सुनको आयात घटेको देखिन्छ । 

गत आवभर नेपालमा दुई हजार ६५२ केजी सुन आयात भएको थियो । त्यसको लागत मूल्य २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँ थियो ।

बिशेषगरी सुनको मूल्य निरन्तर बढ्दा यसका गरगहनाको मागमा पनि संकुचन आएको छ । पछिल्लो समय सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । त्यसले गर्दा नेपाली बजारमा सुन महंगो हुन गई यसको गरगहनाको माग स्वाट्टै घटेको छ । माग नै नभएपछि सुनको आयात पनि नगरेको बैंकहरुको भनाइ छ । 

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार सात सय रुपियाँ छ, जुन हालसम्मकै उच्च हो । 

नेपालमा पछिल्लो पटक फागुन–चैत यतादेखि सुनको मूल्य बढ्दै आएको छ । फागुन १ गते सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७०० रुपियाँ थियो । फागुन महिनामा त्यो बढेर एक लाख २६ हजार रुपियाँसम्म पुगेको थियो । चैतमा भने त्यो बढेर एक लाख ३९ हजार रुपियाँसम्म पुगेको थियो । तर, त्यसबेला सुनको कारोबार पनि उच्च नै थियो । अहिले सुनको मूल्य तोलाकै एक लाख ६० हजार रुपियाँ नजिक पुगेको छ । यसरी मूल्य आकाशीएपछि सुनको गरगहनाको मागमा कमी आएको छ । त्यसपछि यसको आयात पनि नभएको व्यवसायीहरु बताउँछन् । 
 

Advertisement

Advertisement