शेयर धितो कर्जा प्रवाहमा कमीः असारमा तीन अर्ब हुँदा साउनमा एक अर्ब ३५ करोड मात्रै

Advertisement

काठमाडौं । बैंकहरुले संस्थागत लगानीकर्तालाई शेयर खरिद गर्न दिने कर्जाको सीमा हटाउँदा पनि शेयर कर्जा प्रवाहमा उल्टै कमी आएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा संस्थागत तर्फको २० करोड रुपियाँको सीमा हटाउँदै व्यक्तिगत तर्फको १५ करोड रुपियाँको सीमा यथावत राखेको थियो । तर, त्यस्तो सीमा हटाएपछिको साउन महिनामै मार्जिन प्रकृतिको कर्जा प्रवाह घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको शेयर किन्न बैंकहरुले लगानीकर्तालाई शेयर धितोमा ऋण दिन्छन्, जसलाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ । 

तथ्यांकअनुसार साउन महिनामा मार्जिक प्रकृतिको कर्जा प्रवाह एक अर्ब ३५ करोड रुपियाँ भएको छ । जबकी, गतवर्षको साउनमा दुई अर्ब ९८ करोड रुपियाँले बढेको थियो, जुन समयमा संस्थागत तर्फको सीमा पनि कायमै थियो । त्यसअघि जेठमा भने एक अर्ब १६ करोड रुपियाँ बराबरको यस्तो कर्जा प्रवाह भएको देखिन्छ । त्यसअनुसार शेयर कर्जामा संस्थागततर्फको सिमा हटाउँदा पनि प्रभाव नदेखिएको तथ्यांकले पुष्टी गरेको छ । 

लामो समयसम्म स्थिर जस्तै रहेको नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक असार १७ गतेबाट बढ्न थालेको थियो । असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले बीच सत्ता साझेदार बन्ने सहमति भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र एमाले नेपाल बिष्णु पौडेल अर्थमन्त्री हुने भएपछि शेयर बजार बढेको थियो । यद्यपि, उनीहरु असार ३० गते मात्रै प्रधानमन्त्री र अर्थमन्त्री नियुक्ती भएका थिए । तर, त्यस सम्बन्धी सहमति पहिला नै भएको थियो । त्यसले गर्दा असार १७ गतेबाटै शेयर बजार बढ्न थालेको थियो । 

यसअघि पौडेल अर्थमन्त्री भएकै बेला शेयर बजारले नयाँ रेकर्ड राख्ने गरेको थियो । उनी अर्थमन्त्री बन्ने हल्ला भएपछि सोही मनोविज्ञानका कारण असार १७–१८ देखि नै शेयर बजार बढ्न थालेको थियो । तर, अहिलेसम्म शेयर बजारले नयाँ रेकर्ड नै कायम गर्न सकेको भने छैन । यद्यपि, शेयर बजारमा असार १७–१८ देखि नै लगानी बढ्न थालेको थियो । 

असार महिनामै लगानीकर्ताहरुले बैंकहरुबाट कर्जा लिएर शेयरमा लगानी गरेको देखिन्छ । साउनमा पनि लगानीकर्ताले कर्जा लिएर शेयरमा लगानी गरेका छन् । तर, असारको तुलनामा कम भएको तथ्यांकले पुष्टी गरेको छ । 

असुल हुन बाँकी अर्थात् कर्जा बक्यौताको तथ्यांकको आधारमा यस्तो देखिएको हो । गत असारसम्म शेयर कर्जा प्रवाह ९० अर्ब नौ करोड ३० लाख रुपियाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो ९१ अर्ब ४४ करोड ३० लाख पुगेको छ । त्योअनुसार साउनमा एक अर्ब ३५ करोड रुपियाँ यस्तो कर्जा प्रवाह भएको देखिएको हो । 

यद्यपि, समीक्षा अवधिमा यस्ता कर्जा सम्झौताअनुसार फिर्ता भएका पनि हुन सक्छन् । त्योअनुसार यसमा नयाँ कर्जा प्रवाहको मात्रै तथ्यांक छैन । असुल भएको कर्जा समायोजन नगर्दा भने यस्तो कर्जा प्रवाह बढी हुने देखिन्छ । तर, त्यस सम्बन्धी तथ्यांक तयार गरिएको छैन । 

गत असारमा भने झण्डै तीन अर्ब रुपियाँ यस्तो कर्जा प्रवाह भएको थियो । गत जेठ मसान्तसम्म शेयर खरिद गर्ने प्रयोजनमा बैंकहरुले ८७ अर्ब ११ करोड ३० लाख रुपियाँ कर्जा प्रवाह गरेको थिए । असार मसान्तसम्म आउँदा त्यो दुई अर्ब ९८ करोडले बढेर ९० अर्ब रुपियाँ पुगेको देखिन्छ । 

गत आवभरमा १३ अर्ब ५५ करोड रुपियाँले यस्तो कर्जा बढेको देखिन्छ । २०८० असारसम्म यस्तो कर्जा प्रवाह ७६ अर्ब ५३ करोड ५० लाख रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ९० अर्ब रुपियाँ पुगेको हो । । 

साउनसम्म आउँदा बैंक तथा विीय संस्थाहरुले शेयर खरिद गर्ने प्रयोजनका लागि लगानीकर्तालाई कूल ९१ अर्ब ४४ करोड ३० लाख रुपियाँ ऋण दिएका छन् । त्यसमा बाणिज्य बैंकहरुले मात्रै ७१ अर्ब ६९ करोड ३० लाख रुपियाँ ऋण दिएका छन् । यसैगरी विकास बैंकहरुले १५ अर्ब ६८ करोड २० लाख रुपियाँ र वित्त कम्पनीले चार अर्ब छ करोड रुपियाँ यस्तो कर्जा प्रवाह गरेको तथ्यांकमा देखिन्छ ।
 

Advertisement

Advertisement