नेपाली अर्थतन्त्र ४.९ प्रतिशतले बढ्ने एडीबीको अनुमान, के-के छन् आधार ?

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक बर्ष २०८१–८२ (२०२५ सेप्टेम्बरसम्म) नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । 

एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकको प्रतिवेदनले नेपालको अर्थतन्त्र सुधारउन्मूख भएको जानकारी दिएको हो । त्यसमा २०२५ सेटेम्बरसम्म नेपालको जीडपी ४.९ प्रतिशतले बढ्ने अनुमान गरिएको हो । 

Advertisement

त्यसअघि २०२५ अप्रिलसम्म पुग्दा भने नेपालको जीडीपी ४.८ प्रतिशतले बढ्ने अनुमान एडीबीले गरेको छ । अहिले भने नेपालको जीडीपी ३.९ प्रतिशतले बृद्धि भएको अनुमान एडीबीले गरेको छ । 

चालु आवमा सरकारले नेपालको जीडीपी ६ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यो अवस्थामा एडीबीले नेपालको जीडीपी ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । 

कृषि उत्पादनमा आएको सुधार, बढ्दो विद्युत् उत्पादन, बढ्दो पर्यटन आगमनले गत आवमा नेपालको जीडीपी बढ्न सहयोग पुगेको एडीबीको भनाइ छ । धान उत्पादनमा भएको वृद्धिका कारण कृषि क्षेत्र विस्तार भएको प्रतिवेदनमा उल्लेख छ । 
तर, उद्योग क्षेत्रको वृद्धि अलिकति सुस्त भएको बताइएको छ । निर्माण क्षेत्रमा आएको संकुचनले खानी तथा खनिज उत्खनन प्रभावित भएको पनि प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, आवास, खाद्य सेवा, भण्डारण र सञ्चार क्षेत्रमा भएको उल्लेखनीय विस्तारका कारण सेवा क्षेत्रको बृद्धि राम्रो भएको एडीबीको भनाइ छ । 

२०२४ मा विद्युत् परियोजनाहरूमा भएको सार्वजनिक लगानी १७.७ प्रतिशतले बढेको पनि एडीबीको प्रतिवेदनमा उल्लेख छ । त्यसमा निजी लगानी १६.६ प्रतिशतले बढेको एडीबीको भनाइ छ । 

सहज मौद्रिक नीति र लगानीकर्ताहरूको विश्वासका कारण यसमा लगानी प्रोत्साहन भएको एडीबीको प्रतिवेदनमा उल्लेख छ । 

रेमिट्यान्स प्रवाहमा भएको सुधार र मूल्यहरूले मध्यम बनेसँगै निजी उपभोग थोरै मात्रामा वास्तविक रूपमा वृद्धि भएको पनि बताइएको छ । 

पूर्वाधार परियोजनाहरूको योजनामा वृद्धि, परियोजनाहरूको द्रुत कार्यान्वयन, केन्द्रीय बैंकको नीतिगत दरमा कटौती, थप मौद्रिक सहजता र चलिरहेको वित्त क्षेत्र सुधारले चालु आवमा अर्थतन्त्र थप चलायमान हुने अनुमान एडीबीले गरेको छ । 

सरकारले परियोजना कार्यान्वयनको सुधार गर्ने र निर्माण कम्पनीहरुको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता सार्वजनिक लगानी बढ्ने अनुमान पनि गरिएको छ । रेमिट्यान्समा वृद्धि र सरकारी खर्चमा सुधार आउँदा उपभोग बढ्ने अनुमान पनि गरिएको छ । 

सरकारी परियोजनाहरूको कार्यान्वयन तीव्र हुने क्रममा लगानी पनि बढ्ने बताइएको छ, जसले आयातलाई उल्लेखनीय रूपमा बढाउने एडीबीको भनाइ छ । 

भारतसँग भएको विद्युत् व्यापार सम्झौताका कारण विद्यत् निर्यात थप बढ्ने अनुमान पनि गरिएको छ । साथै, अब नेपाल खुद विद्युत् निर्यातकर्ता हुने पनि एडीबीको भनाइ छ । 

यस्तै, अन्य उत्पादन क्षेत्रमा पनि उच्च वृद्धि अनुमान गरिएको छ । धानको उचित समयमा रोपाइँ, सामान्य मनसुन र धानको न्यूनतम समर्थन मूल्यको हालै घोषणा गरिएले कृषि क्षेत्रलाई थप लाभ हुने एडीबीको भनाई छ । यसले किसानहरूको लागि मूल्यको अनिश्चिततालाई हटाएको पनि बताइएको छ । 

बढ्दो विद्युत् उत्पादनले पनि उद्योग क्षेत्रको बृद्धिमा सहयोग पुर्याउने अनुमान गरिएको छ । 

ऋण भुक्तानीमा नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई दिएको सहुलियतका कारण पनि निर्माण क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ । व्याज दर कम हुँदा उत्पादन क्षेत्रले पनि गति लिने अनुमान एडीबीले गरेको छ । उच्च पर्यटक आगमनले सेवा क्षेत्र थप लाभान्वित हुने बताइएको छ । 

मुद्रास्फीति ५.५ प्रतिशत हुने 
२०२५ सेप्टेम्बरसम्म पुग्दा नेपालको मुद्रास्फीति ५.५ प्रतिशत कायम हुने अनुमान पनि एडीबीले गरेको छ । अहिले नेपालको मुद्रास्फीति ५.४ प्रतिशत रहेको एडीबीको भनाइ छ । आगामी अप्रीलसम्म पुग्दा त्यो ६ प्रतिशत पुग्ने अनुमान एडीबीले गरेको छ ।

त्यसपछि २०२५ सेटेम्बरसम्म पुग्दा त्यो ५.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आवमा मुद्रास्फीति पाँच प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ । 

एडीबीले खाद्य बस्तुको मूल्य बढे पनि गैर–खाद्य बस्तुको मूल्य बढ्दा गत आवमा मुद्रास्फीति कम भएको बताएको छ । तेलको मूल्य घट्दा पनि मुद्रास्फीति सन्तुलनमा आएको एडीबीको भनाइ छ । 

Advertisement

Advertisement