सामागाउँवासीले हेलिकप्टर उडानमा अवरोध सुरु गरेपछि गृह मन्त्रालयले बनायो कार्यदल

Advertisement

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा हेलिकप्टर उडानको विषयलाई लिएर स्थानीयको भेलाबाट भएको निर्णयलाई सहजीकरण एवं समन्वयका लागि भन्दै गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । 

यही गएको असोज ४ गते स्थानीयको भेलाबाट भएको निर्णयअनुसार गृह मन्त्रालयलाई पत्र लेखिएको थियो । उक्त पत्रको आधारमा कार्यदल गठन गरिएको मन्त्रालयको भनाई छ । कार्यदलको संयोजकमा गृह मन्त्रालयका उपसचिव बन्दना राई, सदस्यहरु संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकृत प्रतिनिधि, गोरखा ४ चुमनुब्री गाउँपालिका प्रतिनिधि, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका अधिकृत प्रतिनिधि, वायुुसेवा संचालक संघका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका शाखा अधिकृत संगीता कोइराला सस्दय सचिव रहेका छन् । 

Advertisement

आवश्यकताअनुसार सम्बन्धित जनप्रनिधि र अन्य विज्ञ प्रतिनिधि आमन्त्रण गर्न सकिने जनाइएको छ । हिजो (बुधबार) गोरखाका सामागाउँबासीले हेलिप्याडमा ढुङ्गा राखेर हेलिकप्टर उडान बन्द गरेपछि आजसम्म हेलिकप्टरको रेस्कु (उद्दार) उडानबाहेक अरु उडान बन्द रहेको छ । 

हेलिकप्टर उडानमा अवरोध गर्दा हिजोदेखि सामागाउँमै पर्यटकहरु अलपत्र परेका छन् । यो गाउँ गोरखाको निकै विकट क्षेत्रमा पर्छ जहाँ सडक यातायातको सुविधा पुग्न सकेको छैन् । हेलिकप्टर उडान प्रक्रिया सहज बनाउन माग गर्दै स्थानीयले हेलिकोप्टर उडान बन्द गरेका हुन् । 

यही गएको असोज ६ का दिन सामागाउँबासीले गाउँपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमा हेलिकप्टर उडानको प्रक्रिया सहज बनाउन माग गरेका थिए । उक्त माग सुनुवाई नभएपछि हेलिकप्टर उडान बन्द गर्न आफूहरू बाध्य भएको उनीहरुको भनाई छ । 

स्थानीयले हेलिकप्टर उडान अनुमति लिन एक हप्ता समय पर्खिनुपर्ने बाध्यता रहेको बताउँदै हेलिकप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया पनि निकै झन्झटिलो रहेकोले सहज बनाउन माग गरेका छन् । 

Advertisement

Advertisement